काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहमा एनपी साउदलाई पार्टी सभापतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भइरहेका बेला अर्को पक्षले भने शेरबहादुर देउवालाई नै पुनः सभापति बनाउन सक्रियता देखाएको छ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले शेरबहादुर देउवाको उत्तराधिकारी खोज्न हतार गर्नु गलत भएको बताएका छन्। विधान संशोधन गर्न सकिने विषय भएकाले आवश्यक परे विधान संशोधन गरेर भए पनि एक पटकका लागि देउवालाई नै सभापति बनाउन आन्तरिक तयारी भइरहेको उनले बताए।
कांग्रेसको एकता कायम राख्न सक्ने नेता देउवा मात्रै भएको दाबी गर्दै गुरुङले महाधिवेशन प्रतिनिधिहरू पनि उनको पक्षमा रहेको बताए।
यसैबीच, संस्थापनइतर समूहले वडा र प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ भने अहिले जिल्ला अधिवेशनमा केन्द्रित भएको छ। उक्त समूहबाट सभापतिका सम्भावित उम्मेदवारका रूपमा एनपी साउदको नाम चर्चामा छ।
“उता सभापतिमा गगन थापा आउँदै गर्दा हामीले पनि नयाँ अनुहार ल्याउनुपर्छ। उमेर समूहको सन्तुलन पनि मिलाउनुपर्छ। एनपी दाइ नै अबको सभापति बन्नुपर्छ,” एक जिल्ला सभापतिले बताए।
तर, गुरुङले भने विधानको प्रावधान देखाएर अप्ठ्यारो परिस्थितिमा देउवालाई नेतृत्वबाट हटाउन नहुने तर्क गरेका छन्।
साउद यतिबेला जिल्ला दौडाहामा रहेको बताइएको छ। उनले यसअघि नेपाल विद्यार्थी संघमा सँगै काम गरेका साथीहरूले आफ्नो नाम सभापतिका रूपमा अघि सारेको बताएका छन्। यद्यपि, सबै पक्षसँग छलफल गरेर मात्रै आफू अगाडि बढ्ने उनको भनाइ छ।
संस्थापनइतर समूहमा लामो राजनीतिक विरासत बोकेका नेताहरू पनि नेतृत्वको आकांक्षी छन्। प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक कोइरालालगायत नेताहरू सभापतिको दौडमा रहेको चर्चा छ।
यता, कांग्रेसको महिला उपसभापतिका लागि डा. आरजु राणा देउवाको नामसमेत चर्चामा रहेको छ।
प्रतिक्रिया