एनआरएनएलाई निर्वाचनमुखी संस्था नबनाउन सुझाब

  नेपाली सन्देश डट कम | १६ कार्तिक २०८३, आईतवार १७:४२

एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव

काठमाडौं, १ नोभेम्बर २०२६। गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सदस्यकेन्द्रित, सेवामुखी, पारदर्शी तथा जवाफदेही संस्था बनाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूले सुझाव दिएका छन्।

आइतबार काठमाडौंस्थित संघको सचिवालयमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र विभिन्न देशका एनसीसी पदाधिकारीहरूबीच आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा संस्थाको भावी कार्यदिशा, संस्थागत सुदृढीकरण, सदस्य सेवा, वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या तथा आईसीसी र एनसीसीबीचको समन्वयलगायतका विषयमा छलफल भएको हो। कार्यक्रममा काठमाडौंमा रहेका पदाधिकारीहरूको भौतिक तथा विभिन्न देशका प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो। अध्यक्ष डा. हेमराज शर्माले कार्यक्रममा भर्चुअल माध्यमबाट समेत सम्बोधन गर्नुभएको थियो।

छलफलमा एनआरएनएलाई पद तथा निर्वाचनकेन्द्रित नभई सदस्यको आवश्यकता र समस्यालाई प्राथमिकता दिने सेवामुखी संस्था बनाउनुपर्नेमा जोड दिइएको थियो। सदस्यता केवल मतदान गर्ने अधिकारमा सीमित नराखी सदस्यले समस्या पर्दा वास्तविक सहयोग र सेवा पाउने व्यवस्था गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए। विदेशमा नेपालीको मृत्यु हुँदा परिवारलाई सहयोग गर्ने, शव स्वदेश फिर्ता गर्ने तथा आपत्कालीन अवस्थामा राहत र सहायता उपलब्ध गराउने प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने विषय पनि उठाइएको थियो।

त्यसैगरी, आईसीसी र एनसीसीबीच नियमित संवाद, प्रभावकारी सूचना आदानप्रदान र स्पष्ट जिम्मेवारी बाँडफाँट आवश्यक रहेको सहभागीहरूको धारणा थियो। विशेषगरी अफ्रिकालगायत विभिन्न क्षेत्रमा रहेका एनसीसीलाई संघका गतिविधि तथा निर्णय प्रक्रियासँग जोड्नुपर्ने र स्थानीय नेपाली समुदायका समस्या समाधानमा क्षेत्रीय संयोजकमार्फत समन्वय विस्तार गर्नुपर्ने सुझाव दिइएको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानलाई पनि छलफलको महत्वपूर्ण विषय बनाइएको थियो। श्रमिकले भोग्ने पारिश्रमिकसम्बन्धी समस्या, कार्यस्थलमा हुने हिंसा तथा दुर्व्यवहार, दुर्घटना, मृत्यु र शव स्वदेश फिर्तासम्बन्धी कठिनाइ समाधान गर्न आईसीसीले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा नेपाली दूतावाससँग समन्वय र पहल गर्नुपर्नेमा जोड दिइएको थियो।

एनसीसीहरूको संस्थागत क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए। एनसीसीका पदाधिकारीका लागि व्यवहारमुखी तालिम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका संस्थासँगको सहकार्य विस्तार गर्ने तथा वार्षिक कार्ययोजना, बजेट, खर्च विवरण र लेखापरीक्षण प्रतिवेदन नियमित रूपमा आईसीसीमा पठाउने प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिएको थियो।

संघको विधान संशोधनका क्रममा सदस्यको अधिकार र सुरक्षा, एनसीसीको संरचना, दोस्रो पुस्ताका नेपालीको प्रतिनिधित्व तथा श्रमिक, महिला, स्वास्थ्य र समुदायका सरोकारलाई समेट्नुपर्ने सुझाव दिइएको थियो। साथै, संघका बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलनमा महिला र युवा प्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने र उनीहरूका विषयमा पर्याप्त छलफलको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो।

आर्थिक पारदर्शिता तथा सामूहिक लगानी प्रवर्द्धनका विषयमा पनि छलफल भएको थियो। एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत विदेशमा रहेका नेपालीको पुँजी नेपालमा परिचालन गर्न विभिन्न देशमा लगानीसम्बन्धी जानकारीमूलक कार्यक्रम तथा रोड सो सञ्चालन गर्नुपर्ने र सदस्यहरूलाई लगानीका अवसरबारे जानकारी गराउनुपर्ने सुझाव दिइएको थियो।
यसैगरी, एनआरएनएले विगतदेखि गैरआवासीय नेपालीको हकहित संरक्षण, श्रमिक अधिकार, सामाजिक सुरक्षा, नीतिगत तथा कानुनी सुधार, भूकम्पपछिको पुनर्निर्माण र सामूहिक लगानीका क्षेत्रमा गरेका योगदान तथा उपलब्धिबारे सदस्यहरूलाई जानकारी गराउनुपर्ने विषय उठाइएको थियो। संघका काम र उपलब्धिबारे पर्याप्त जानकारी नहुँदा सदस्यहरूमा सदस्यता शुल्कको उपयोगबारे प्रश्न उठ्ने गरेको भन्दै संस्थागत उपलब्धिको प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई थप सहभागितामूलक बनाउन पर्ने सुझाव पनि दिइएको थियो। आगामी ग्लोबल हेल्थ कन्फरेन्स, ग्लोबल नलेज कन्भेन्सन, ग्लोबल वुमन कन्फरेन्स तथा दोस्रो पुस्ताका नेपाली युवासम्बन्धी सम्मेलनमा एनसीसीहरूको सक्रिय सहभागिताका लागि आग्रह गरिएको थियो।

छलफलले एनआरएनएलाई सदस्यको विश्वास जित्ने, प्रवासी नेपालीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने तथा संस्थागत रूपमा पारदर्शी र उत्तरदायी बनाउने दिशामा आईसीसी र एनसीसीबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

Selected poll is not defined.