पत्रकार पक्राउ गर्ने सरकारको शैली निरङ्कुशताउन्मुख : सभापति थापा

  नेपाली सन्देश डट कम | १५ कार्तिक २०८३, शनिबार ००:१३

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने तथा धरपकड गर्ने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गर्ने कार्यले शाहीकालीन निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गरेका छन्।

कांग्रेसले ‘जनदबाबपछि रिहाइभन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार’ भन्ने मागसहित पत्रकारमाथि भइरहेको गैरकानुनी धरपकड र सञ्चारगृहमाथिको प्रहरी हस्तक्षेप तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप गर्ने प्रवृत्ति पुनः दोहोरिनु लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा संघर्ष गर्दै आएको स्मरण गराउँदै यस्ता स्वेच्छाचारी कदमविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले सञ्चारमाध्यम वा पत्रकारबाट कुनै गल्ती भएको अवस्थामा त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाको अवलम्बन गर्नुपर्ने जनाएको छ।

कानुनी प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गराएर हस्तक्षेप गर्नु कानुनी शासनको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ। यस्तो कार्यले ‘रुल अफ ल’ अर्थात् कानुनको शासनको सट्टा ‘रुल बाई ल’ अर्थात् कानुनलाई शासनको औजारका रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्ने भन्दै पार्टीले घटनाको भर्त्सना गरेको छ।

कांग्रेस सभापति थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न, सञ्चारगृहमाथि भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न तथा पत्रकारले निर्भीकतापूर्वक आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन्।

कांग्रेसले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको सुरक्षा र कानुनी शासनको प्रत्याभूतिलाई लोकतान्त्रिक व्यवस्थाको अनिवार्य सर्तका रूपमा अघि सारेको छ।

प्रतिक्रिया

Selected poll is not defined.