मधेश सरकारमा एमालेको बहिर्गमन, चार मन्त्रीले दिए राजीनामा

  नेपाली सन्देश डट कम | ३० आश्विन २०८३, शुक्रबार २०:५९

काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह छन् ।

एमाले संसदीय दलको निर्देशनअनुसार चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए । उनीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई समेत राजीनामा बुझाएका छन् ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी सम्मिलित गठबन्धन सरकार छ । केन्द्रमा कांग्रेस र एमालेबीचको राजनीतिक समीकरणमा आएको फेरबदलको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।

एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ । प्रदेशमा अब नयाँ सरकार गठनको समीकरणबारे अन्योल छ । केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय टुङ्गिएको छैन ।

एमालेबाहेक कांग्रेससहित अन्य दलहरू मिलेर सरकार गठन गर्ने सम्भावना देखिए पनि त्यसका लागि दलहरूबीचको सहमति र प्रदेशसभाको अंकगणित निर्णायक हुनेछ । मधेस प्रदेशसभामा सीके राउत नेतृत्वको जनमत पार्टीसहित विभिन्न मधेसी दलहरूको पनि प्रतिनिधित्व छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आएको छ ।

प्रतिक्रिया

Selected poll is not defined.