लन्डन — गैरआवासीय नेपाली संघको ११७औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठक अक्टोबर ३ देखि ४, २०२६ मा भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न बैठक महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गर्नुभएको थियो। बैठकमा विश्वभरबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, पदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद्का आमन्त्रित अध्यक्षहरूको सहभागिता रहेको थियो।
बैठकको पहिलो दिन पछिल्ला तीन महिनामा संघभित्र भएका संस्थागत, आर्थिक तथा विभिन्न विभागीय गतिविधि र प्रगतिबारे विवरण प्रस्तुत गरी समीक्षा गरिएको थियो। बैठकको फेसबुकमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।
बैठकको दोस्रो दिन संघका विभिन्न संस्थागत विषयमा विस्तृत छलफल गरिएको थियो। छलफलपछि संघको आगामी कार्यदिशा, संस्थागत गतिविधि तथा समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ।
बैठकमा भएका निर्णयहरू संघको संस्थागत विकास, आर्थिक व्यवस्थापन, विभागीय गतिविधि तथा राष्ट्रिय समन्वय परिषद्हरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ।
गैरआवासीय नेपाली संघले बैठकबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विश्वभर रहेका नेपाली समुदायसँगको सम्बन्ध र संस्थागत समन्वयलाई थप सुदृढ बनाउने जनाएको छ।
१ . रसुवा–भोटेकोसी बाढीपीडितहरूको राहत तथा पुनर्स्थापना
रसुवा र नुवाकोटलगायतका क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हालसम्म भएका कार्यहरूको समीक्षा गर्दै बैठकले तत्कालका लागि राहत वितरणको कार्य स्थगन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा केन्द्रित हुने निर्णय गरेको छ। त्यसैगरी, नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका प्राथमिकता र कार्ययोजनाका सम्बन्धमा केही हप्ताभित्र आवश्यक निर्णय गर्ने तथा राष्ट्रिय समन्वय परिषद् (NCC) हरूले सङ्कलन गरेको रकम अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मार्फत पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरिएको छ । विशेष गरी स्वास्थ्य तथा शिक्षा सम्बन्धी परियोजनाहरू प्राथमिकतामा राखेर छनोट गर्ने निर्णय गरिएको छ।
२ . आगामी महत्वपूर्ण कार्यक्रम
बैठकले आगामी महत्वपूर्ण कार्यक्रमहरूको मिति अनुमोदन गरेको छ :
कार्यक्रम / सम्मेलन
मिति
स्थान
एनआरएन दिवस
११ अक्टोबर २०२६
नेपाल तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (NCC) हरू
NRNA Rasuwa Recovery and Resilience Initiative – 2026 वेबिनार
१२ अक्टोबर २०२६
अनलाइन
एनसीसीको क्षमता अभिबृद्धि सम्बन्धि ३ दिने आवासीय तालिम
२८–३० अक्टोबर २०२६
गोदावरी ललितपुर
छैटौँ विश्व स्वास्थ्य सम्मेलन
४–५ डिसेम्बर २०२६
जनकपुर, मधेश प्रदेश
नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन
११–१२ डिसेम्बर २०२६
दोहा, कतार
दशौँ ओसियाना क्षेत्रीय सम्मेलन
१९–२० डिसेम्बर २०२६
न्युजिल्याण्ड
चौथो ज्ञान सम्मेलन (Knowledge Convention)
२–४ जनवरी २०२७
काठमाडौं
पहिलो एनआरएन सेकेन्ड जेनेरेसन युथ कन्भेन्सन
३ जनवरी २०२७
काठमाडौं
पहिलो एनआरएन ग्लोबल महिला सम्मेलन
४ जनवरी २०२७
काठमाडौं
वार्षिक साधारण सभा (Annual General Assembly)
६ जनवरी २०२७
हाइब्रिड मोडल
दशौँ अमेरिकाज क्षेत्रीय सम्मेलन
२४–२५ अप्रिल २०२७
टोरन्टो, क्यानाडा
३. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता
२०२६ डिसेम्बर २ देखि १३ सम्म सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहभागिता जनाउने तथा विदेशमा रहेका इच्छुक नेपाली खेलाडीहरूबाट सहभागिताका लागि आवेदन माग गरी आवश्यक प्रक्रियाअनुसार खेलाडी छनोट गर्ने निर्णय गरिएको छ।
४ . ११औँ एसिया–प्यासिफिक तथा १७औँ युरोप क्षेत्रीय सम्मेलन
१७औँ युरोप क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक राष्ट्र आयरल्याण्ड र युरोप क्षेत्रीय समिति तथा ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक राष्ट्र चीन र एसिया–प्यासिफिक क्षेत्रीय समितिलाई धन्यवाद ज्ञापन गर्दै दुवै सम्मेलनको आर्थिक प्रतिवेदन सम्बन्धित क्षेत्रीय समितिहरूले एक साताभित्र अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मा पठाउनुपर्ने निर्णय गरिएको छ। सम्मेलनबाट बचत भएको रकम ICC मा पठाउन अनुरोध गर्ने तथा उक्त रकम बाढीपीडितहरूको पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरिएको छ।
५ . सदस्यता शुल्क नबुझाएका NCC सम्बन्धमा
सदस्यता शुल्क नबुझाएका NCC हरूका लागि २०२७–२०२९ को Membership Registration System (MRS) नखोल्ने निर्णय गरिएको छ। शुल्क नबुझाएका NCC हरूको नाम तथा बुझाउन बाँकी रहेको रकम सार्वजनिक गर्ने र सम्बन्धित NCC का पञ्जीकृत सदस्यहरूलाई समेत सदस्यता शुल्क नबुझाएको जानकारी गराउने निर्णय गरिएको छ। अबदेखि सदस्यता लिँदा ICC लाई बुझाउनुपर्ने शुल्क अनलाइनमार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ।
६ . ICC शुल्क तथा मनोनयन शुल्क नबुझाएका पदाधिकारी तथा सदस्य सम्बन्धमा
बैठकले मनोनयन शुल्क तथा सदस्यता शुल्क नबुझाएका ICC का पदाधिकारी तथा सदस्यहरूलाई उक्त शुल्क बुझाउन १० दिनको समय दिने निर्णय गरेको छ। उक्त अवधिभित्र शुल्क नबुझाउनेहरूको नामावली सार्वजनिक गर्ने तथा सम्बन्धित NCC लाई जानकारी दिने निर्णय गरिएको छ। साथै, शुल्क नबुझाउनेहरूको पद विधानअनुसार रिक्त रहने निर्णय गरिएको छ। एनसीसीको एकताका लागि योगदान गर्दै आफ्नो पद छाडेर ICC को पद ग्रहण गरेका पदाधिकारीहरूको मनोनयन शुल्क मिनाहा गर्ने निर्णय गरिएको छ। दोस्रो पुस्ताको अध्ययनरत सदस्यहरूको हकमा भने अनुरोधको आधारमा सदस्यता शुल्क आधा (५०%) गर्ने निर्णय गरिएको छ।
७ . राष्ट्र बैंकबाट प्राप्त गर्नुपर्ने भाडा रकम
नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपाली संघ (NRNA) को भवन भोगचलन गरेको भए पनि उक्त भवन भोगचलन गरेबापत संघलाई प्राप्त हुनुपर्ने भाडा रकम हालसम्म भुक्तानी गरेको छैन। भाडा रकम भुक्तानीका लागि संघले पटक–पटक ताकेता तथा अनुरोध गर्दै आए पनि हालसम्म भुक्तानी नभई आलटाल हुँदै आएको अवस्था छ। यस सम्बन्धमा संघले प्राप्त गर्नुपर्ने भाडा रकम असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
८ . एनआरएनए फाउन्डेसन नवीकरण
बैठकले एनआरएनए फाउन्डेसन नवीकरण गर्ने प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको छ।
९. राष्ट्रिय समन्वय परिषद् (NCC) एकीकरण
अधिकांश राष्ट्रिय समन्वय परिषद् (NCC) मा एकीकरणको प्रक्रिया सम्पन्न भइसके पनि केही NCC मा एकीकरण हुन बाँकी रहेको सन्दर्भमा, बाँकी रहेका NCC को अवस्थाबारे एकताको लागि जिम्मा दिएका उपमहासचिवहरूबाट प्रतिवेदन प्राप्त गरी उहाँहरू तथा सम्बन्धित क्षेत्रीय संयोजकहरूसँग आवश्यक परामर्श गर्ने र सोही आधारमा अध्यक्ष र महासचिवले आवश्यक निर्णय गर्ने निर्णय गरिएको छ।
१०. NCC पुनःसक्रियता तथा नयाँ देशमा स्थापना
बैठकले रोमानियाको नवगठित समितिलाई अनुमोदन गर्ने तथा माल्टाको हालको समितिलाई कायम राख्ने निर्णय गरेको छ।
११ . Membership Registration System (MRS) खोल्ने सम्बन्धमा
Membership Registration System (MRS) प्रणाली खोल्दा फेस भेरिफिकेसन अनिवार्य गर्ने तथा ICC लाई बुझाउनुपर्ने शुल्क अनलाइनमार्फत सिधै सचिवालयमा भुक्तानी गर्ने व्यवस्था गर्ने निर्णय गरिएको छ।
१२. विभिन्न समितिका संयोजकको चयन
बैठकले डिजिटल मेडिसिनको संयोजक दीपक गौतम, उपमहासचिवलाई अनुमोदन गर्ने निर्णय गरेको छ। त्यसैगरी, वैदेशिक रोजगार परामर्श समितिको अध्यक्षमा दीपक ओली, उपमहासचिव तथा स्मार्ट एनआरएनएको संयोजक मा डा. नवराज रोस्यारा, उपमहासचिवलाई अनुमोदन गर्ने निर्णय गरिएको छ।
एनआरएनए ग्लोबल नेपाली डायस्पोरा इन्टिग्रेसन कमिटीको मा संयोजक कृष्ण पोखरेल, उपमहासचिव तथा एनआरएनए कानुनी तथा प्रशासनिक सल्लाहकार केन्द्रको संयोजक मा विनोद कार्की, उपमहासचिवलाई अनुमोदन गर्ने निर्णय गरिएको छ। साथै, स्कुल विभागको संयोजक मा प्रकाश धमला, उपमहासचिवलाई अनुमोदन गर्ने निर्णय गरिएको छ।
१३ . पदाधिकारी तथा सदस्यहरूको पदबाट अलग हुने प्रस्ताव अनुमोदन
बैठकले आफ्नो पदबाट अलग रहने इच्छा व्यक्त गरेका कमलमणि गुरागाईं–उपाध्यक्ष, गोविन्द गौतम–उपमहासचिव, विमल सुवेदी–उपकोषाध्यक्ष, कमलराज शर्मा–उपक्षेत्रीय संयोजक, युरोप, सुदेश झा–उपक्षेत्रीय संयोजक, एसिया प्यासिफिक, मनिषा सिंह कोइराला–ICC सदस्य, डेनमार्क, आभा मल्ल–ICC सदस्य, बेल्जियम तथा ओमराज पौडेल–ICC सदस्य, आइसल्यान्डको सम्बन्धमा प्राप्त प्रस्तावलाई अनुमोदन गर्दै उहाँहरूलाई सम्बन्धित पदबाट अलग गर्ने निर्णय गरेको छ।
१४ . राजनीतिक संस्थासँग आबद्ध पदाधिकारीहरू
संघको निर्वाचन सम्बन्धी नियमावली- २०२१ को दफा ७ बमोजिम कुनै राजनीतिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पदमा बहाल रहेको भए सम्बन्धित व्यक्तिले उक्त पदबाट राजीनामा दिई सोको प्रमाणसहित अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) लाई जानकारी गराउनुपर्ने निर्णय गरिएको छ।
१५ . समझदारी पत्र (MoU) सम्बन्धमा
बैठकले गैरआवासीय नेपाली संघ (NRNA), नेपाल रेडक्रस सोसाइटी (NRCS) तथा International Federation of Red Cross and Red Crescent Societies (IFRC) बीच साझा हितका विषयमा सहकार्यका लागि गरिएको समझदारीपत्र (MOU) अनुमोदन गर्ने निर्णय गरेको छ। साथै, नेपाल रेडक्रस सोसाइटीको मनसुन तथा बाढी प्रतिकार्य पहलमा संघको कोषबाट रु. ५ लाख सहयोग उपलब्ध गराउने प्रस्तावसमेत अनुमोदन गरिएको छ। यस्तै नेपाल चेम्बर अफ कमर्स तथा एजुकेशन कन्सल्टेन्सी एसोसिएसन नेपाल (ECAN) सँग गरिएको समझदारीपत्र (MOU) अनुमोदन गर्ने निर्णय गरिएको छ।
१६. उज्यालो फाउन्डेसन
संघको संलग्नतामा २०७५/०४/२७ मा स्थापना भएको तर पछिल्लो ५ वर्षा यता निस्क्रिय अवस्थामा रहेको उज्यालो फाउन्डेसनको विधिवत् रूपमा बन्द/खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
मिति : २०८३ असोज २० तदनुसार ६ अक्टोवर २०२६
सोमनाथ सापकोटा
प्रवक्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए )
प्रतिक्रिया