वि.सं. २०८३ सालका बडादशैँ, तिहार तथा दीपावलीका शुभ मुहूर्त सार्वजनिक

  नेपाली सन्देश डट कम | २१ आश्विन २०८३, बुधबार ०१:००

नेपाली पण्डित सङ्घ, यूकेले वि.सं. २०८३ सालका बडादशैँ, तिहार, दीपावली तथा भाइटीकाका प्रमुख पर्वहरूको शुभ मुहूर्त तथा साइत निर्धारण गरेको छ।

नेपाली पण्डित सङ्घ, यूकेको मिति २८ सेप्टेम्बर २०२६, आश्विन कृष्ण द्वितीया, सोमबारका दिन कार्यसमिति अध्यक्ष पण्डित चिरञ्जीवी ढकालज्यूको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले गरेको निर्णयअनुसार प्रमुख पर्वहरूको शुभ मुहूर्त निर्धारण गर्न सङ्घका वरिष्ठ उपाध्यक्ष ज्योतिष पण्डित निलहरि घिमिरेज्यूको संयोजकत्वमा तीन सदस्यीय मुहूर्त निर्धारण उपसमिति गठन गरिएको थियो।

उक्त उपसमितिले बेलायतमा रहनुभएका विभिन्न विद्वान् ज्योतिषाचार्य तथा गुरुज्यूहरू तथा नेपालमा रहनुभएका ज्योतिषविद् एवं गुरुज्यूहरूसँग आवश्यक परामर्श गरी शास्त्रीय मान्यता, तिथि गणना, पञ्चाङ्गीय आधार तथा बेलायतको स्थानीय समयलाई समेत विचार गरेर वि.सं. २०८३ सालका प्रमुख पर्वहरूको शुभ मुहूर्त तथा साइत निर्धारण गरेको हो।
प्रमुख पर्व तथा शुभ मुहूर्त
१. घटस्थापना

मिति: आइतबार, ११ अक्टोबर २०२६

प्रातःकालीन शुभ मुहूर्त: बिहान १०:१५ बजे

सायंकालीन रूपमा घटस्थापना गर्नुपर्ने अवस्थामा:

शुभ समय: बेलुका ७:१५ बजे
२. फूलपाती

मिति: शनिबार, १७ अक्टोबर २०२६

प्रातःकालीन शुभ समय: बिहान १०:०५ बजे

सायंकालीन फूलपातीका लागि:

शुभ समय: बेलुका ७:३१ बजे
३. महानवमी

मिति: मंगलबार, २० अक्टोबर २०२६

शुभ मुहूर्त: बिहान १०:११ बजे
४. विजया दशमी तथा टीका ग्रहण

मिति: बुधबार, २१ अक्टोबर २०२६

विशेष बडादशैँ टीका शुभ मुहूर्त: बिहान ८:४५ बजे

टीका ग्रहण गर्दा पश्चिमतर्फ फर्केर बस्ने।

विशेष शुभ साइतमा टीका ग्रहण गर्न चाहनुहुने श्रद्धालुहरूका लागि उपर्युक्त समयलाई प्राथमिकता दिन सकिनेछ। तथापि, यही समय मात्र टीका ग्रहण गर्नुपर्ने अनिवार्य समय भने होइन। आफ्नो पारिवारिक परम्परा, अनुकूलता तथा परिस्थितिअनुसार विजया दशमीको दिन अन्य उपयुक्त समयमा पनि टीका, जमरा तथा मान्यजनको आशीर्वाद ग्रहण गर्न सकिनेछ।

त्यसैगरी, दशमीको दिन भेटघाट गर्न सम्भव नभएका परिवारजन तथा आफन्तहरूले नेपाली परम्पराअनुसार दशमीदेखि पूर्णिमासम्म आफ्नो अनुकूल समयमा टीका, जमरा तथा मान्यजनको आशीर्वाद ग्रहण गर्न सक्नेछन्।
५. लक्ष्मी पूजा

मिति: आइतबार, ८ नोभेम्बर २०२६

पूजा समय: सायंकाल
६. भाइटीका

मिति: बुधबार, ११ नोभेम्बर २०२६

विशेष शुभ मुहूर्त: बिहान १०:४५ बजे

भाइटीका ग्रहण गर्दा पश्चिमतर्फ फर्केर बस्ने।
बेलायतको स्थानीय समयलाई आधार

उल्लिखित सम्पूर्ण मुहूर्तहरू बेलायतको स्थानीय समयअनुसार प्रस्तुत गरिएका हुन्। स्थानअनुसार सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, लग्न तथा अन्य पञ्चाङ्गीय गणनामा केही भिन्नता हुन सक्ने भएकाले नेपालमा प्रकाशित समयलाई जस्ताको तस्तै प्रयोग नगरी सम्बन्धित स्थानको स्थानीय समय तथा पञ्चाङ्गीय अवस्थालाई आधार मान्नु उचित हुनेछ।

यस परामर्शको मुख्य उद्देश्य बेलायतमा बसोबास गर्ने नेपाली सनातन धर्मावलम्बीहरूलाई आफ्ना धार्मिक पर्व तथा संस्कारहरू वैदिक एवं शास्त्रीय मर्यादा, स्थानीय समय तथा पारिवारिक परम्पराअनुकूल रूपमा सम्पन्न गर्न सहजता प्रदान गर्नु हो।

नेपाली पण्डित सङ्घ, यूकेले विभिन्न विद्वान् ज्योतिषाचार्य तथा गुरुज्यूहरूसँगको परामर्श र उपलब्ध पञ्चाङ्गीय आधारलाई समेटी यो शुभ मुहूर्तसम्बन्धी जानकारी सार्वजनिक गरेको हो।

यस अवसरमा नेपाली पण्डित सङ्घ, यूके सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा वि.सं. २०८३ सालको बडादशैँ, दीपावली, तिहार तथा भाइटीकाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

पण्डित चिरञ्जीवी ढकाल
अध्यक्ष
नेपाली पण्डित सङ्घ, यूके

पण्डित शेखर शाण्डिल्य काफ्ले
महासचिव
नेपाली पण्डित सङ्घ, यूके

प्रतिक्रिया

Selected poll is not defined.