काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पुराना मात्र नभई नयाँ पुस्ताका नेताहरूबाट समेत देश निर्माणको स्पष्ट संकेत नदेखिएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले पुराना पुस्ताका नेताहरूको कार्यशैलीसँगै पछिल्लो पुस्ताबाट उदाएका नेतृत्वमाथि पनि प्रश्न उठाएका हुन् ।
काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले विगतमा आफूलाई युवा दाबी गर्ने नेताहरूले मुलुकलाई अपेक्षाअनुसार अघि बढाउन नसकेको बताए। अहिले नयाँ पुस्ताका नेताहरू राजनीतिमा आए पनि उनीहरूबाट देश बनाउने ठोस दृष्टिकोण र संकेत देखिन नसकेको उनको भनाइ थियो।
‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कपाल काला भएकाहरूले पनि देश बनाउने कुनै छनक देखाएका छैनन्,’ चौधरीले भने।
उनले राजनीतिको पुरानो र नयाँ दुवै अतिवादबाट मुलुकको समस्या समाधान हुन नसक्ने धारणा राखे। अब देशको नेतृत्वमा मध्यम पुस्ताले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। चौधरीले नेपाली कांग्रेसका नेता गगन थापालाई संकेत गर्दै मध्यम पुस्ताका नेताहरूप्रति भने आशावादी रहेको बताए। ‘अब आधा–आधि कपाल फुलेका, गगनजी तपाईंको जस्तो १०–२० वटा दाह्री र ५०–६० वटा कपाल फुलेका नेताले देश पक्कै बनाउँछन् भन्ने मलाई विश्वास छ,’ उनले भने।
राजनीतिक प्रतिशोध अन्त्य गर्न माग
समारोहमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेतर्फ संकेत गर्दै चौधरीले लोकप्रिय मत पाएर संसद्मा पुगेका नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा जेल हाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा पनि राखे।
जनताको मतबाट निर्वाचित भएका राजनीतिक नेतृत्वमाथि राज्यसत्ताको प्रयोग गरेर प्रतिशोध साध्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने उनको संकेत थियो।
थारु समुदायका अधिकारप्रति प्रश्न
चौधरीले संविधानमा अधिकार तथा समावेशिताका विषय उल्लेख भए पनि व्यवहारमा थारु समुदायले राज्यका उच्च तहमा पर्याप्त प्रतिनिधित्व पाउन नसकेको बताए।
नेपालको कुल जनसंख्याको करिब ६.७ प्रतिशत हिस्सा थारु समुदायको रहेको उल्लेख गर्दै उनले राज्यका महत्वपूर्ण तथा उच्च ओहोदामा समुदायको प्रतिनिधित्व अझै कमजोर रहेको गुनासो गरे । उनले ऐतिहासिक टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नसमेत सरकारसँग माग गरे। टीकापुरको ऐतिहासिक तथा राजनीतिक महत्वलाई ध्यानमा राख्दै तत्काल जिल्ला घोषणा गर्नुपर्ने उनको भनाइ थियो।
चौधरीको सम्बोधनमा पुरानो पुस्ताको नेतृत्व, नयाँ राजनीतिक शक्तिको उदय, राजनीतिक प्रतिशोध, समावेशिता तथा थारु समुदायका अधिकारलगायत विषय समेटिएका थिए।
प्रतिक्रिया