काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा पार्टीका सबैभन्दा पुराना सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
श्रेष्ठले २००७ साल चैत २६ गते १८ वर्षको उमेरमा नेपाली कांग्रेसको तत्कालीन सभापति मातृकाप्रसाद कोइरालाबाट पार्टीको प्राथमिक सदस्यता लिएका थिए। उनको सदस्यता प्रमाणपत्रमा गुल्मीको तम्घासस्थित साहु टोलका श्रेष्ठलाई वार्षिक एक रुपैयाँ वा २५ मोरु चन्दा लिएर पार्टीको प्राथमिक सदस्य बनाइएको उल्लेख छ।
हाल ९४ वर्ष पुगेका श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय सदस्यका रूपमा परिचित छन्। पार्टीको इतिहाससँग जोडिएको उनको पुरानो सदस्यता र योगदानलाई कदर गर्दै महाधिवेशनका क्रममा सम्मान गरिएको हो ।
श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय समितिले यसअघि नै ‘प्रजातन्त्र सेनानी’ का रूपमा सम्मान गरिसकेको छ। त्यस्तै, नेपाली कांग्रेस गुल्मी तथा कांग्रेस लुम्बिनी प्रदेशले पनि उनलाई यसअघि सम्मान गरिसकेका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार हालसम्म उपलब्ध पार्टी सदस्यताको अभिलेखमध्ये श्रेष्ठको सदस्यता सबैभन्दा पुरानो हो। २००७ सालदेखि पार्टीको सदस्यका रूपमा रहेका श्रेष्ठको सम्मानलाई कांग्रेसको पुरानो इतिहास र लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका अग्रजप्रति सम्मानका रूपमा हेरिएको छ।
महाधिवेशनमा श्रेष्ठलाई सम्मान गर्दै सभापति थापाले पार्टीको स्थापना र लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा योगदान दिएका अग्रजहरूको योगदान स्मरण गरेका थिए। श्रेष्ठको सम्मानले कांग्रेसको लामो राजनीतिक इतिहास र पुस्तान्तरणको पक्षलाई समेत उजागर गरेको छ।
प्रतिक्रिया