काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रको रक्षाका लागि लामो समय संघर्ष गरे पनि पार्टीले जनताले उठाएका प्रश्नको समुचित जवाफ दिन नसकेको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले अबको महाधिवेशन कांग्रेसका लागि मात्र नभई समग्र देशको राजनीतिमा नयाँ चरणको सुरुवात बन्नुपर्ने बताए। उनले पार्टीलाई पुनर्जीवन दिँदै नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
उनले कांग्रेसले अब राष्ट्रलाई राजनीतिको केन्द्रमा राखेर आफ्नो भूमिका अघि बढाउनुपर्ने बताए।
> “कांग्रेस अब राजनीतिको केन्द्रमा राष्ट्रलाई अघि राखेर अघि बढ्छ। पार्टीलाई पुनर्जीवन दिएर अघि बढ्छ। नयाँ पुस्ताको भावनाअनुसार पार्टी अघि बढ्छ।”
महामन्त्री घिमिरेले लोकतन्त्र र राजनीति सही दिशामा अघि बढिरहेको छ कि छैन भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए। अहिले लोकतन्त्रको अवस्था र राजनीतिको सार्थकतामाथि नागरिक तहबाट प्रश्न उठिरहेको भन्दै उनले त्यसको जवाफ खोज्नु कांग्रेससहित सबै राजनीतिक दलको दायित्व भएको बताए।
आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ उनले भने, “यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो। यदि यो प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने राजनीति सार्थक हुन्छ ।
घिमिरेले लोकतन्त्रलाई केवल शासन व्यवस्था वा राजनीतिक प्रणालीका रूपमा मात्र बुझ्न नहुने बताए। लोकतन्त्र नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउने माध्यम बन्नुपर्ने उनको भनाइ थियो।
उनले जनताको जीवनस्तर सुधार, आर्थिक समुन्नति र राष्ट्रिय विकासलाई अबको कांग्रेसको प्राथमिक एजेन्डा बनाउनुपर्ने बताए। लोकतन्त्रको वास्तविक सफलता नागरिकको जीवनमा आएको सकारात्मक परिवर्तनबाट मापन हुनुपर्ने उनको धारणा थियो।
> “लोकतन्त्र भनेको केवल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो।”
महामन्त्री घिमिरेले नेपालको लोकतन्त्रलाई थप बलियो बनाउन छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्ध पनि आवश्यक रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै बाह्य सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
तर लोकतन्त्रको संरक्षणका लागि संघर्ष गर्दै आए पनि जनताका मनमा उठेका प्रश्नको पर्याप्त जवाफ दिन नसकिएको उनले स्वीकार गरे। यसलाई कांग्रेसले गम्भीर आत्मसमीक्षाको विषय बनाउनुपर्ने उनको भनाइ थियो।
“छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धले मात्र हाम्रो लोकतन्त्रलाई थप सबल बनाउन सक्छ। तर, हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ। यो हाम्रो आत्मसमीक्षाको विषय हो।”
घिमिरेले अबको नेपाली कांग्रेस सत्ता प्राप्ति र राजनीतिक औपचारिकतामा मात्र सीमित हुन नहुने बताए। पार्टीले समाजका विभिन्न पुस्ताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने गरी नयाँ राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले वृद्ध पुस्तालाई सम्मानित जीवन र युवापुस्तालाई समुन्नतिको स्पष्ट अवसर तथा बाटो दिन नसकिएको विषयमा पनि आत्मसमीक्षा गर्नुपर्ने बताए।
हामीले बुढेसकाललाई सम्मानित बनाउन सकेनौँ र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउन सकेनौँ। अबको राजनीति केवल सत्ता र औपचारिकतामा मात्र सीमित हुनुहुँदैन ।
महामन्त्री घिमिरेले कांग्रेसको आगामी राजनीतिक यात्रामा जनताको विश्वास पुनः स्थापित गर्नु प्रमुख चुनौती रहेको संकेत गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै लैजानुपर्ने धारणा राखे। नयाँ पुस्ताको आकांक्षा, नागरिकका प्रश्न र राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर कांग्रेस अघि बढ्नुपर्ने उनको जोड थियो।
प्रतिक्रिया