काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय कार्यसमितिकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई औपचारिक सभा–समारोहमा सीमित नराखी आत्मसुधार, आत्मनिर्णय पुनर्जागरण र पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएकी छन् ।
महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले कांग्रेसमाथि उठिरहेका विभिन्न प्रश्नको जवाफ व्यवहार र काममार्फत दिनुपर्ने बताइन् । जनतामाझ पार्टीप्रतिको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ताहरू गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने उनको भनाइ थियो।
उनले नेपाली कांग्रेस केवल राजनीतिक दल नभई विचार, कार्यशैली, संस्कार र लोकतान्त्रिक जीवन पद्धतिको प्रतिनिधि संस्था भएको बताइन्। यस क्रममा उनले पार्टीका संस्थापक नेता बिपी कोइरालाको भनाइ स्मरण गर्दै कांग्रेसको राजनीतिक यात्रा लोकतान्त्रिक मूल्य र मान्यतासँग जोडिएको उल्लेख गरिन्।
भुसालले बिपी कोइरालाले अघि सारेको समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई आधार बनाएर पार्टी अघि बढ्नुपर्नेमा जोड दिइन्। हरेक नागरिकको सम्मान, समान अवसर र सुशासनलाई प्राथमिकतामा राखेर राजनीतिक तथा सामाजिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने उनले बताइन् । उनले पछिल्लो पुस्ताले उठाएका मुद्दालाई समेत पार्टीले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखिन्। देशको कुल जनसङ्ख्याको ४१ प्रतिशत हिस्सा ओगट्ने ‘जेनजी’ पुस्ताले उठाउँदै आएको भ्रष्टाचारमुक्त समाज, रोजगारीको सुनिश्चितता तथा आत्मसम्मानका विषयलाई सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले बताइन् ।
उपसभापति भुसालले युवापुस्ताका आकांक्षा र बदलिँदो सामाजिक परिवेशअनुसार पार्टीको नीति, कार्यशैली र नेतृत्वमा समेत सुधार आवश्यक रहेको उल्लेख गरिन्। जनताका अपेक्षा र समसामयिक चुनौतीलाई सम्बोधन गर्दै कांग्रेसले आफूलाई थप उत्तरदायी र जनमुखी बनाउनुपर्ने उनको भनाइ थियो । त्यस्तै, उनले महिलाको राजनीतिक तथा सामाजिक योगदानलाई थप प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने बताइन्। देशको जनसङ्ख्यामा ५१ प्रतिशत हिस्सा रहेका महिलालाई समाज र राजनीतिका दुवै क्षेत्रमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न आवश्यक रहेको उनले उल्लेख गरिन्।
महिलाको सहभागिता संख्यात्मक रूपमा मात्र नभई निर्णय प्रक्रियामा प्रभावकारी प्रतिनिधित्वका रूपमा सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
भुसालले १५औँ महाधिवेशनलाई पार्टीभित्रको संगठनात्मक सुधारसँगै जनतासँगको सम्बन्ध पुनःसुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै लोकतान्त्रिक मूल्य, सुशासन र सामाजिक न्यायका मुद्दामा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।
प्रतिक्रिया