महाधिवेशनमा सहभागी कांग्रेस प्रतिनिधिको बसोबास आफ्नै, भोजन पार्टीको

  नेपाली सन्देश डट कम | १६ आश्विन २०८३, शुक्रबार १६:०२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ।

पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई यसपटक भड्किलो र खर्चिलो नबनाउने जानकारी दिए।

उनका अनुसार देश शोक र विपत्तिको अवस्थामा रहेकाले महाधिवेशनमा विगतमा जस्तो झाँकी, सजावट तथा अन्य तामझाम गरिने छैन। महाधिवेशनलाई मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी कांग्रेसको छ ।

चालिसेले भने, ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेका छौँ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू र झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए । तर प्रतिनिधिको आवासको व्यवस्था भने पार्टीले नगर्ने भएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ ।

कांग्रेसका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिको संख्या करिब ७ हजार ७ सय पुग्ने पार्टीले जनाएको छ ।

देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनलाई औपचारिकता र संगठनात्मक प्रक्रियामा केन्द्रित गर्ने तयारी कांग्रेसको देखिएको छ । कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। प्रवक्ता चालिसेले महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए। `१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।´ प्रवक्ता चालिसेले भने।

प्रतिक्रिया

Selected poll is not defined.