सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न विगतको सरकार र अहिलेको सरकारबीच फरक के भयो ?

  नेपाली सन्देश डट कम | १६ आश्विन २०८३, शुक्रबार १५:५३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। उनले सरकारलाई सत्ताको दम्भ त्यागेर विगतका कमजोरीबाट पाठ सिक्दै जनताका सवालमा गम्भीर बन्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै शाहीले प्रतिपक्षले सरकारका कमजोरी औँल्याउँदा त्यसलाई विरोधका रूपमा नलिन आग्रह गरे। आफूहरू सरकारका विरोधी नभई खबरदारी गर्ने पक्ष भएको उनको भनाइ थियो । हामी सरकारका प्रतिपक्ष हौँ, शत्रु होइनौँ। समर्थक हौँ, तर दास होइनौँ उनले भने।

शाहीले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जगमा वर्तमान सरकार बनेको उल्लेख गर्दै आन्दोलनका क्रममा भएका हत्या तथा हिंसाका घटनामा संलग्नमाथि प्रभावकारी कारबाही हुन नसकेको आरोप लगाए । राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा निजी सम्पत्तिमा आगजनीलगायत घटनामा संलग्नलाई कारबाही गर्न प्रमाणसहित प्रतिवेदन दिएको लामो समय बितिसक्दा पनि अनुसन्धान अघि नबढेको उनको दाबी थियो।

‘राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने र निजी व्यक्तिको सम्पत्तिसम्म जलाउने अपराधीलाई कारबाही गर्न प्रतिवेदन बुझाएको ६ महिना भयो। तपाईंहरूले एउटा अनुसन्धानको ‘अ’ पनि गर्नुभएको छैन उनले प्रश्न गर्दै भने अनि तपाईं र हिजोको सरकारका बीचमा फरक के भयो ?

आन्दोलनका क्रममा गोली चलेका घटनामा संलग्नमाथि समेत कारबाही नभएको शाहीले बताए। सरकारले सडकमा रहँदा हत्यारा भनेर आरोप लगाएका व्यक्तिमध्ये एक जनालाई समेत पक्राउ गर्न नसकेको उनको आरोप थियो।

ठूला भ्रष्टाचारका प्रकरण छानबिन गर्न माग

शाहीले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी तथा क्यान्टोन्मेन्टलगायत करिब ६५ वटा ठूला भ्रष्टाचारका प्रकरण छानबिन गर्न सरकारसँग माग गरे ।
उनले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न भई विदेशमा रहेका व्यक्तिलाई कानुनी प्रक्रियामार्फत नेपाल ल्याउनुपर्ने बताए। इन्टरपोलको रेड कर्नर नोटिस कार्यान्वयन गरी दोषी ठहरिएकाबाट सार्वजनिक रकम असुल गर्नुपर्ने उनको माग थियो।

चिनियाँ जहाज खरिदबारे पनि प्रश्न

नेपाल वायुसेवा निगमले चीनबाट करिब ६ अर्ब ६७ करोड रुपैयाँमा खरिद गरेका पाँचवटा जहाज सञ्चालनमा आउन नसकेको विषयमा पनि छानबिन हुनुपर्ने शाहीले बताए।

‘चीनबाट करिब ६ अर्ब ६७ करोडमा किनिएका पाँचवटा जहाज उड्नै नसकेर त्रिभुवन विमानस्थलको कुनामा सडिरहेका छन्। त्यो सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री अहिलेका गृहमन्त्रीसँग कुममा कुम जोडेर हिँडिरहेका छन्, यसको अनुसन्धान कहिले हुन्छ ?’ उनले प्रश्न गरे।

## स्वास्थ्य सेवा सुधार गर्न माग

शाहीले देशको स्वास्थ्य क्षेत्रको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराए। त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा उपचारका लागि गरिब तथा विपन्न नागरिकले लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै उनले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम तत्काल पुनर्बहाली गर्न समेत माग गरे।

युवालाई स्वदेशमै अवसर दिनुपर्नेमा जोड

युवाहरू ठूलो संख्यामा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न देशमै रोजगारी तथा अवसर सिर्जना गर्नुपर्नेमा पनि शाहीले जोड दिए।

देशमा रोजगारी र सम्भावना नहुँदा युवाहरू विदेश जान बाध्य भएको उल्लेख गर्दै उनले यस्तो अवस्था परिवर्तन गर्न राज्यले दीर्घकालीन नीति र कार्यक्रम ल्याउनुपर्ने बताए।

‘हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ छोराले विदेशबाट फोन गरेर “आमा, म ठिक छु” भन्नु नपरोस्। बरु आमा र छोरा यही देशमा सँगै बसेर “हामी ठिक छौँ” भन्ने दिन आओस्उ नले भने।

प्रतिक्रिया

Selected poll is not defined.