भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरूआज २९ औँ दिनमा पनि निरन्तर जारी रह्यो।
भोटेकोशी नदीको बाढीबाट आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका प्रभावित परिवारलाई सहयोगस्वरूप ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ। आज एनआरएनए सचिवालयबाट उतरगया तथा विदुरका गरी १५ प्रभावित परिवारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।
बाढीबाट घर तथा आफन्त गुमाएका उनीहरू हाल काठमाडौं, नुवाकोटलगायतका स्थानमा कोठा वा घर भाडामा लिएर नयाँ बसोबासको तयारीमा रहेका छन्। यसअघि हिजो पनि १५ परिवारलाई सोही परिमाणमा राहत सामग्री उपलब्ध गराइएको थियो ।
प्रतिकूल मौसमका कारण भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा राहत वितरण स्थगित गरिएको छ । मौसममा सुधार आएपछि केही दिनपछि राहत सामग्री वितरण कार्यलाई पुनः निरन्तरता दिइनेछ। राहत सामग्री प्रभावित परिवारसम्म सुरक्षित रूपमा पुर्याउने उद्देश्यले मौसम अनुकूल भएपछि टोली पुनः राहत अभियानमा परिचालन हुनेछ।
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड १९ लाख ४५ हजार २७२ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड २ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ।
प्रतिक्रिया