काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने अवसर मात्रै नभई अग्रज नेताहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर भएको बताएका छन् ।
लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै थापाले यस्तो बताएका हुन्। उनले समय र चुनौती बदलिएको भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झनै बढेको बताए ।
थापाले गणेशमान सिंहलाई लोकतन्त्रका लागि जीवन समर्पण गर्ने तथा कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नभएका साहसी, त्यागी र निष्ठावान् नेताका रूपमा स्मरण गरेका छन्। उनले गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिएका छन्।
‘हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो थापाले भनेका छन्।
प्रतिक्रिया