‘मिस नेपाल’ बनेर दीपमालाले रचिन् ३ कीर्तिमान, डायस्पोराको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली

  नेपाली सन्देश डट कम | १७ श्रावण २०८३, आईतवार १४:०५

काठमाडौं । दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् ।

शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय नेपाली युवतीले मिस नेपालमा प्रतिस्पर्धा गरेपनि उपाधि जित्न सकेका थिएनन् ।

विद्यार्थी भिसामा पढ्न गएकाहरू फर्किएर मिस नेपालको उपाधि जितेको भएपनि विदेशमै स्थायी बसोबास गर्ने (एनआरएनएको दोस्रो पुस्ता) ले उपाधि जितेको थिएनन् ।

दोस्रो कीर्तिमान- मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरसँग अनुबन्धित डायस्पोराको उपाधि पनि जितेर लगातार मिस नेपालको मुख्य उपाधि जित्नु पनि यो पहिलोपटक हो । मिस नेपालमा दीपमालाको प्रवेश मिस नेपाल हङकङको उपाधि जितेसँगै पक्का भएको हो । डायस्पोराको उपाधि जितेता लगातार मिस नेपालकै उपाधि जितेको यो पहिलो घटना हो ।

तेस्रो कीर्तिमान- दीपमाला ग्रान्ड फिनालेमा ४ सहविधा जित्ने पहिलो प्रतियोगी बनिन् । यसअघि एकैजनाले यति धेरै सहविधा जितेका थिएनन् ।

दीपमालाले मिस भिजिनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पसजस्ता महत्वपूर्ण सहविधा जितिन् । केही विधाको जितले उनलाई सिधै सेमीफाइनलमा प्रवेश गरायो भने ‘ब्युटी विथ पर्पस’ले उनलाई आगामी मिस वर्ल्डको तयारी गर्न सहज हुने बुझ्न सकिन्छ ।

अर्कोतर्फ, एनआरएनएमा ‘दोस्रो पुस्ता’ भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवालाई बुझिन्छ, जो नेपालसँग भावनात्मक, सांस्कृतिक र साङ्गठनिक रूपमा जोडिन चाहन्छन् ।

त्यसको प्रतिनिधित्व दीपमालाले गरेकी छन् । हङकङमा हुर्किएर, उतै अध्ययन गरेकी दीपमालाको मिस नेपालको यात्रा पछाडि भने आमाले थालेको ब्यूटी पेजेन्टको विरासत लुकेको छ ।

उनकी आमा रोशनीले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन् । उपाधि जित्ने आमाको अधुरो सपनालाई छोरी दीपमालाले पूरा गरिदिएकी छिन् । आमाको विरासत उनको मिस नेपाल प्रतिस्पर्धासँग जोडिएको छ ।

प्रतिक्रिया

Selected poll is not defined.