माधवी भट्ट पराजुली ।
आरजु भाउजू भनूँ कि आरजु म्याडम? तपाईंसँगको संक्षिप्त सम्बन्धमै पनि मैले कसरी सम्बोधन गर्ने भन्ने निर्क्यौल गर्न सकिनँ—कहिले भाउजू, कहिले म्याडम। तपाईंको प्रोफेसनल बोलीचालीको म सधैँ प्रशंसक नै थिएँ। तपाईंले पटक पटक भन्नुभएको थियो—“माधवी जी, दाइले तपाईंको नाम यति धेरै लिनुहुन्छ नि, उहाँ त तपाईंको फ्यान नै हो, सधैँ प्रशंसा मात्रै गर्नुहुन्छ।” उहाँको निरन्तर प्रशंसाले गर्दा म पनि तपाईंप्रति एकदमै सकारात्मक छु । खासमा २०७६ साल बैशाखको पहिलो हप्ता पार्टी सभापतिसङ्ग कुराकानी गरेर केही वर्सको विश्राम पछि म पुनः सक्रिय राजनीतिमा होमिसकेको थिए । उहाँ मलाइ गोरखा गएर राजनीति गरोस भन्ने चाहनु हुन्थ्यो म भने काठमाडौंवाटै राजनीति गर्न चाहन्थे ।
राजनीतिक प्रसङ्गमा नै एक पटक तपाइसङ्ग भेटेर कुरा गरेपछि हाम्रो फोनमा कुरा हुन थालेको थियो । अन्तिम पटक फोनमा कुराकानी हुँदा तपाई जापान जाने तयारीमा हुनुहुन्थ्यो। सायद २०७६ साल साउन–भदौको समय थियो। सभापति देउवाले मलाई प्रशंसा गर्नुका अनेक कारणमध्ये एउटा—उहाँ मेरो बुवाप्रति सम्मान राख्नुहुन्थ्यो, अर्को—म किशुनजीको धारमा उभिएको कारण। व्यक्तिगत रूपमा पनि उहाँले मलाई सधैँ प्रशंसा गरिरहनुहुन्थ्यो—मेरो अगाडि मात्र होइन, काँग्रेसका शीर्ष नेता र पदाधिकारीहरूसमक्ष पनि। सभापतिले मेरो वानी व्ययवहार सवै राम्ररी वुझ्नु भएको थियो । मलाइ मेरो हैसियतले मात्र होइन वुवाको कारण उच्च सम्मानले हेर्नुहुन्थ्यो ।
यही आत्मीयताको आधारमा, ह्वाट्सएपमार्फत भइरहेका संवादहरूमा मैले तपाईंलाई एउटा स्पष्ट सुझाव दिएको थिएँ—राजनीतिक सहकार्यका नाममा तपाईंको वरिपरि घुमिरहेका केही व्यक्तिहरू तपाइले हटाउनुपर्छ। ती व्यक्ति भ्रष्टाचारका कारण बदनाम भइसकेका छन्, वडादेखि केन्द्रसम्म तपाईंकै नाममा पैसा उठाइरहेका छन्, र यसले तपाईंको सामाजिक तथा राजनीतिक छवि गम्भीर रूपमा क्षतिग्रस्त बनाइरहेको छ ।
अनि म यस्ता भ्रस्टहरुसङ्ग काम गर्न पनि सक्दिन र गरे भने म पनि बद्नाम हुन्छु भनी मैले प्रस्ट रूपमा लेखेको थिएँ। त्यस दिनदेखि तपाईं मसँग सम्पर्कविहीन हुनुभयो, र आजसम्म पनि सम्पर्कविहीन नै हुनुहुन्छ। तर त्यही दिनदेखि तपाईंले मेरा प्रत्येक अवसरमा निरन्तर तगारो हाल्न थाल्नुभयो।
चाहे त्यो अघिल्लो आम निर्वाचनमा टिकट वितरणको क्रममा होस्, वा पछिल्लो समय सभापति देउवाले केन्द्रीय सदस्य बनाउन तयार पारिसकेको पत्र रोक्ने विषय होस्—हरेक ठाउँमा तपाईंको हस्तक्षेप स्पष्ट देखियो। यो पीडा केवल मेरो मात्र होइन। पार्टीभित्र तपाईंले हस–हजुरीमा नलाग्ने प्रत्येक क्षमतावान, निष्ठावान र इमान्दार व्यक्तिमाथि निरन्तर आक्रमण गर्दै आउनुभएको छ। काँग्रेसभित्र विचार, क्षमता र नैतिकताका आधारमा अघि बढ्न चाहनेहरूलाई पन्छाउँदै, चाकडी र भयको राजनीतिलाई संस्थागत गर्ने काम भइरहेको छ।
अनि तपाइसङ्गको छोटो सम्वन्ध यसरी टुङ्गिएपनि देउवा-आरजु गुटको भनी मैले निरन्तर आरोप र लाञ्छाना भने भोगिरहेकै छु । यतिसम्मकी भदौ २४ मा तपाइमाथी आक्रमण गरिएपछि त कतिले मलाइ झम्टिनै आए । कतिले त मेरो साहस र शक्ति नै गुमेको भन्नी ठानेर मानसिक यातना नै दिए । अध्यारोमा निष्ठाको दियो बाल्ने मेरो प्रयत्नमा समेत कतिपयले प्रश्न उठाए ।
यहाँ म एउटा कुरा मात्रै भन्न चाहन्छु—तपाईंले भ्रष्टाचार गर्नुभएको छ कि छैन, त्यो तपाईंलाई वा लेनदेनमा संलग्नहरूलाई थाहा होला। तर त्यत्रो निघात कुटाइ खाएपछि, अनि ‘भ्रष्टाचारको अकूत पैसा जलेको’ भन्ने गम्भीर आरोप लागिसकेपछि पनि, त्यसबारे तपाईंको धारणा आजसम्म सार्वजनिक नहुनु गम्भीर विषय हो। न तपाईंले आफूमाथि आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गर्नुभएको छ, न त जलेको भनिएको पैसाबारे स्पष्ट रूपमा बोल्नुभएको छ।
सभापतिले “एआईबाट बनाइएको हो” भनेर दिएको हल्का जवाफले तपाईंलाई राजनीतिमा पुनरागमन गर्ने नैतिक आधार दिँदैन। कम्तीमा छानबिन र कारबाहीको माग गर्न तपाईंलाई कसले रोकेको छ? त्यसैले म तपाईंसँग यो नमागिएको तर अपरिहार्य सुझाव राख्न चाहन्छु—यो विशेष महाधिवेशनको सम्मुखमा राजनीतिबाट विश्राम लिने घोषणा गर्नुहोस्। यसले सभापति देउवाको सम्मानजनक बहिर्गमनको बाटो खोल्छ र नेपाली काँग्रेसलाई एकताबद्ध राख्न मद्दत पुर्याउँछ। कम्तिमा पनि तपाइले आफुमाथी उठेका भ्रष्टाचारका अनगिन्ती आरोपहरुको समीक्षा गर्नुस । यदि ति मिथ्या आरोप हुन भने प्रतिवाद गर्नुस ।
र सफाइ लिएर मात्र फेरी राजनीतिमा उभिनुस । अन्यथा एक थान पद दिएर न तपाइको उन्नती हुन्छ । न त आम काँग्रेसको छवी नै सुधारिन्छ । साथै, काँग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका महिला नेताहरूलाई पनि म स्पष्ट रूपमा आग्रह गर्न चाहन्छु—आफ्नो राजनीतिक अडान र दृष्टिकोणबारे प्रस्ट हुनुहोस्।
तपाईंहरूमध्ये धेरैले हिनताबोध र आत्मग्लानी बोकेर आरजु म्याडमलाई नेता मानेर हिँडिरहनुभएको देखिन्छ। कसैलाई नेता मान्ने हो भने सम्मान र आत्मविश्वाससहित मान्नुपर्छ। पदका लागि आत्म स्वाभिमान गुमाएर लम्पसार पर्नु नेतृत्व होइन, आत्मसमर्पण हो।
प्रतिक्रिया