‘गैर आवासीय नेपाली अभियानमा एकता’

  नेपाली सन्देश डट कम | १७ कार्तिक २०८२, सोमबार ०५:१७

– दिपक नेउपाने

गैर आवासीय नेपाली संघ (NRNA) मा देखिएको विवाद समाधानका लागि गरिएको प्रयासले अपेक्षित परिणाम दिन नसक्दा र नेपालको वर्तमान तरल राजनीतिक अवस्थाले थप जटिलता सिर्जना गर्दा, हाम्रो समस्या झन् गहिरिँदै गएको छ। “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारा नारामा मात्र सीमित बन्न थालेको अनुभूति सर्वत्र देखिन्छ। यसमा को कति जिम्मेवार छ भन्ने कुरा इतिहासले मूल्यांकन गर्नेछ।

प्रवासी नेपालीको दीर्घकालीन माग — दोहोरो नागरिकता, सम्पत्तिको सुरक्षा, र आगामी पुस्तालाई नेपालसँग भावनात्मक तथा भौतिकरूपमा जोडिराख्ने प्रयास — अहिले पनि चुनौतीपूर्ण विषय बनेको छ। यदि हामीले विवाद रहित रूपमा एकढिक्का भएर आवाज उठाउन सकेनौं भने राज्य पक्षबाट हाम्रा माग सम्बोधन र इमान्दारितापूर्वक कार्यान्वयन हुने अपेक्षा कमजोर हुनेछ।

अंगीकृत नागरिकता र वंशज नागरिकताका विषयमा निर्णय हुँदै गर्दा गैर आवासीय नेपाली नागरिकता सम्बन्धी मस्यौदा पारित हुन नै लामो समय लाग्यो। त्यसपछि वितरण भएको नागरिकता पनि अपूर्ण र राज्यका कुनै निकायले नचिन्ने अवस्थामा रहनु दुःखद् छ। यस विषयमा अब साझा धारणा तय गर्न ढिलाइ गर्नु हुँदैन, नत्र हामी फेरि शून्य अवस्थामै पुग्नेछौं।

हामी विदेशमा अवसरका लागि आएका हौं, तर त्यहाँ पुग्ने बाध्यता अर्कै थियो। हाम्रा विगतका संघर्ष र कठिनाइ परिवार र सन्तानको उज्ज्वल भविष्यका लागि थिए। तर, देशमा विभिन्न राजनीतिक परिवर्तन भए पनि हाम्रा समस्या यथावत छन्, र डायस्पोराका नेपालीहरू पनि ती समस्याबाट अछुतो छैनन्।

केवल १–२ प्रतिशत गैर आवासीय नेपालीहरूको सफलता देखाएर करिब ६० लाख प्रवासी नेपालीहरूको अवस्था मापन गर्न सकिँदैन। हाम्रा सन्तानहरू विदेशी भूमिमा हुर्कँदै गर्दा, हाम्रो भाषा, कला, र संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई नेपालप्रति जोडिराख्न, र साझा समस्या समाधान गर्न अब संगठनात्मक एकताको खाँचो छ।

गैर आवासीय नेपाली अभियानमा सबैको साझा सहभागिता, अग्रसरता र एकता अपरिहार्य छ। यस एकतालाई सबैले शक्तिको रूपमा लिएर आगामी दिनमा साझा मुद्दा र अधिकारका विषयमा गम्भीर चिन्तन–मनन गर्नुपर्छ।

संस्थागत विवाद र नेपालको तरल राजनीतिक अवस्थाले हामी अझ सचेत र संयमित बन्नुपर्ने देखिन्छ। हाम्रा अग्रजहरूले लामो समयदेखि उठाइरहेको गैर आवासीय नेपाली नागरिकताको माग अहिले कार्यान्वयनको चरणमा पुगेको छ। अब मुख्य प्रश्न छ — हाम्रो कति अधिकार सुरक्षित हुने छन्, बाँकी प्राप्त हुनुपर्ने अधिकारका लागि के रणनीति लिने भन्ने।

राजनीतिक अस्थिरताले हाम्रा माग र मुद्दा सम्बोधनमा बाधा पुर्‍याइरहेको छ। गुट–उपगुटको राजनीति र एकअर्कामाथि दोषारोपणले हाम्रो साझा उद्देश्य कमजोर बनाउँछ। समस्या हरेक ठाउँमा छन्, र तिनको सीधा असर हाम्रो सामूहिक हितमा पर्छ।

अन्ततः, सबै नीतिको आधार राजनीति हो। यदि देशको राजनीतिमा गैर आवासीय नेपालीहरूको हक हितका लागि नीतिगत स्थायित्व कायम भयो भने, हाम्रा माग छिटो सम्बोधन हुनेछन्। नत्र, हाम्रा मुद्दा फेरि कमजोर पर्नेछन्।

अब समय आएको छ — हामी सबै एकजुट भएर आवाज उठाऔं, ताकि हाम्रो पुस्ता नेपालबाट टाढा नहोस्, बरु नेपालसँगको सम्बन्ध अझ गहिरो होस्।

प्रतिक्रिया

Selected poll is not defined.