काठमाडौं । सडक सडकमा गाउँदा गाउँदै गीत रेकर्ड गर्ने अवसर पाएपछि बाल गायक अशोक दर्जी रातारात चम्किएका थिए । उनले सडकमा गीत गाउँदै हिँडदादेखि झापाबाट काठमाडौँ आएर स्टुडियोमा गीत गाउँदै सफलता हासिल गर्दासम्मको कथा अब चलचित्रको पर्दामा देख्न पाइने भएको छ ।
अशोक दर्जीको संघर्ष र सफलताको कथा समेटेर नयाँ चलचित्र ‘मन बिनाको धन’ को निर्माण गरिएको छ । यति बेला पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्रलाई आगामी २१ कात्तिकमा नेपालका चलचित्र घरमा रिलिज गरिने निर्माण पक्षले घोषणा गरेको छ ।
चलचित्र मन बिनाको धनमा अशोक दर्जीसँगै निता ढुंगाना, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ ।
यो चलचित्रलाई संगीतकार एवम् गायक टंक बुढाथोकीको निर्देशन तथा निर्माण गरिरहेका छन् । टंकले नै अशोक दर्जीलाई काठमाडौँ ल्याएर आफूसँग राखेर गायक बनाएका हुन् । यति बेला टंककै अभिभावकत्वमा अशोक कक्षा ९ मा निजी विधायनमा अध्ययनरत छन् । यहाँसम्मकी टंकले अशोकको परिवारको लागि झापामा घर पनि बनाई दिएका थिए ।
अशोकका यी सबै आरोह अवरोहका कथा चलचित्रमा समेटिएको निर्देशक एवम् संगीतकार टंक बुढाथोकीले राजधानीलाई बताए । नदेखिएका उनका जीवनका अरू थुप्रै कुराहरू पनि चलचित्रमा हेर्न पाइने यी निर्देशकको कथन छ ।
यो चलचित्रलाई विष्णु माया मैनालीले निर्माण गरेकी हुन् । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रलाई टंक बुढाथोकी आफैले लेखेका हुन् । यसमा पटकथा र संवाद शिवम अधिकारीको रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा सपना शर्मा र सह निर्मातामा जी.पी संग्रौला, बिबेक नेपाल र बिजया पाण्डे रहेका छन् ।
टंक बुढाथोकीकै संगीत रहने यो चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन रहेको छ । यो चलचित्रलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने भएको छ ।
प्रतिक्रिया