काठमाडौं । नयाँ वर्षको अवसर पारेर गत २९ चैतमा रिलिज भएको नेपाली चलचित्र पिताम्बरमा अहिलेसम्मकै सबै भन्दा बढी स्टार कलाकारहरू थिए । यो चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, दिव्या देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट लगायतका चल्तीका कलाकारको अभिनय थियो ।
मल्टी स्टार कलाकार भएकै कारण यो चलचित्रले बक्स अफिसमा निकै राम्रो व्यापार गर्छ भन्ने विश्वास निर्माण पक्षको थियो । ४ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण भएको चलचित्र पिताम्बरले नेपालबाट लगानी उठाउन सकेन । यो चलचित्रको नेपालको व्यापार, ओभरसिजको कमाइसँगै डिजिटल राईट्सबाट उठेको रकमले आफ्नो लगानी सुरक्षित हुने कथन यो चलचित्रकी निर्देशक कृषा चौलागाईँको छ ।
आफ्नो चलचित्रको व्यापार’bout उनले भनिन्,‘मैले चलचित्रको कथा अनुसार पिताम्बरमा मल्टी कास्ट कलाकार राखेको थिएँ । तर चलचित्र रिलिज गर्दाको विभिन्न परिस्थितले सोचे अनुसारको व्यापार पिताम्बरले गर्न सकेन’,उनले अगाडि थपिन्,‘पहिलाको जस्तो मल्टी कास्ट कलाकार हुँदैमा नेपाली चलचित्र नचल्दो रहेछ । अहिले त सबैको मोबाइलमा कलाकारहरूको दैनिक गतिविधि हेर्न पाइने भएकाले चलचित्र चल्नको लागि कथा बस्तु र प्रस्तुति नै बलियो हुनुपर्दो रहेछ ।’
नेपाली चलचित्रमा एक समय यस्तो पनि थियो की शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, श्री कृष्ण श्रेष्ठ, निखिल उप्रेती, बिराज भट्ट जस्ता कलाकारहरूको फोटो पोस्टरमा देखेपछि चलचित्र घरमा दर्शकहरू यी कलाकारलाई हेर्न पुग्ने गर्थे । २०७० ताका नेपाली चलचित्रमा नयाँ पुस्ताका कलाकारहरू आए । दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने जस्ता कलाकारको अभिनयका कारण नेपाली चलचित्रको स्वाद नै दर्शकले फरक पाउन थाले । त्यसपछि यी कलाकारहरूको टाउको पोस्टरमा बिक्न थाल्यो । यी भन्दा पछि आएका कलाकारहरू अनमोल केसी, प्रदीप खड्काको स्टारडम पनि सुरु सुरुमा राम्रोसँग बिक्ने गरेको थियो ।
दुई भन्दा बढी स्टार कास्ट राखिएको चलचित्रलाई मल्टी स्टार कास्ट चलचित्र भन्ने गरिन्छ । अहिले पनि हलिउड, बलिउडमा मल्टी स्टार कास्टको त्यत्तिकै महत्त्व रहने गरेको छ । तर नेपालमा मल्टी स्टार कास्टको समय रहेन । चलचित्रमा मल्टी स्टार कास्ट राख्ना साथ दर्शक हलमा आउँछन् भन्ने पारम्परिक मान्यता तोडिएको चलचित्र निर्माता निर्देशकहरू आफैँ स्विकार्छन् ।
गत जेठमा रिलिज भएको नेपाली चलचित्र के घर के डेरा ः घर नम्बर २ मा पनि मल्टी कास्ट स्टार कलाकारहरू थिए । सो चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, सृजना नापित गरेर ६ जना अभिनेता अभिनेत्री थिए । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको स्टार भ्यालु हेर्दा चलचित्र के घर के डेरा ः घर नम्बर २ले राम्रो व्यापार गर्ने विश्वास निर्माण पक्षको थियो । तर बक्स अफिसमा यो चलचित्रले उत्साहजनक व्यापार गर्न सकेन । डेढ दर्जन चलचित्र घर सञ्चालन गर्दै आएको क्युएफएक्स चेनले यो चलचित्र निर्माण गरेको भए पनि उसले यो चलचित्रलाई हिट बनाउन सकेन । यसको व्यापार हेर्दा चलचित्र घाटामा गएको देखिएको निर्देशक खनालले बताए । चलचित्र’bout उनले भने,‘मल्टी स्टार कास्ट भएकै कारण के घर के डेरा चलेपछि मैले यसमा पनि मल्टी स्टार कास्ट राखेको थिएँ । तर खै किन हो यो चलचित्रले राम्रो व्यापार गर्न सकेन ।’
यती बेला दोस्रो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र महाभोजमा निर्देशक दिनेश राउतले स्टार कास्ट राखेका थिए । यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, सुरक्षा पन्त, गौमाया गुरुङ गरी सात जना अभिनेता अभिनेत्रीहरूलाई राखिएको छ । यती धेरै स्टार कलाकार भएर पनि यो चलचित्रले यति बेला राम्रो व्यापार गरिरहेको छैन । जसका कारण आफ्नो चलचित्रले लगानी सुरक्षित गर्न नसक्ने अवस्था आएको यसका निर्देशक दिनेश राउतले राजधानीलाई बताए ।
मल्टी स्टार कास्ट राखेर पनि चलचित्र महाभोजले किन सोचे अनुसारको व्यापार गर्न सकेन भन्ने राजधानीको जिज्ञासामा निर्देशक राउतले भने,‘कलाकारहरूको स्टार भ्याल्युले मात्र चलचित्र चल्छ भन्ने पुरातन मान्यता अहिले पुरै परिवर्तन भएको मैले पाएँ । अहिले त चलचित्रको कथावस्तु र प्रस्तुति प्रभावशाली हुनु पर्ने रहेछ, त्यसपछि बल्ल मल्टी स्टार कलाकारहरूले प्रभाव पर्दो रहेछ’, निर्देशक राउतले अगाडि थपे,‘विगतमा आर्यन सिग्दे र दयाहाङ राई एक्लै हुँदा पनि चलचित्र हलमा दर्शकको आईरो लाग्थ्यो, तर अहिले दर्शकको स्वाद परिवर्तन भएका कारण उनीहरूले स्टार कास्टसँगै चलचित्र सशक्त कथावस्तु र प्रस्तुतिलाई पनि हेर्दा रहेछन् भन्ने महसुस मैले यस पटक गरेको छु ।’
नेपालमा मल्टी स्टार कास्टलाई समेटेर कमै चलचित्र निर्माण हुने गरेका छन् । मल्टी स्टारलाई समेट्दा खर्च ठुलो लाग्ने, उनीहरूको समय मिलाउन गाह्रो हुने अनुभव चलचित्र पिताम्बरकी निर्देशक कृषा चौलागाईँले सुनाइन् । त्यसैले आउँदो समयमा उनी मल्टी स्टार कास्ट भन्दा पनि चलचित्रको कथा बस्तुमा बढी ध्यान दिने पक्षमा छिन् ।
२०८१ सालमा निकै राम्रो व्यापार गरेको र अहिले पनि १०५ औँ दिनमा प्रदर्शन भइरहेको नेपाली चलचित्र अञ्जिलाका निर्देशक मिलन चाम्स मल्टी स्टार कलाकार हुँदा चलचित्रको प्रचार प्रसार गर्न सहयोग पुग्ने बताउँछन् । तर चलचित्र चल्नको लागि विषयवस्तु र प्रस्तुति नै राम्रो हुनु पर्ने उनको भनाई छ । मल्टी स्टार कास्ट नभए पनि विषयवस्तु राम्रो भएकै कारण चलचित्र अञ्जिलाले राम्रो व्यापार गरेको उनले बताए । त्यसैले चलचित्रमा मल्टी स्टार राख्नु छ भने पनि पहिला चलचित्रको कथा, स्क्रिप्ट र प्रस्तुतिमा ध्यान दिनु पर्ने उनको सुझाव छ ।
प्रतिक्रिया