सितारे जमिन परबाट आमिरको प्रशंसा

  नेपाली सन्देश डट कम | १२ असार २०८२, बिहीबार ०५:११

मुम्बई । बलिउड अभिनेता आमिर खान यति बेला आफ्नो नयाँ चलचित्र ‘सितारे जमिन पर’बाट निकै चर्चामा छन् । समाजले सुस्त मनस्थिति भनेर हेपेका (फरक क्षमता)का मानिसहरूलाई पनि उचित प्रशिक्षण दियो भने उनीहरूले खेलमा राम्रो प्रगति गर्न सक्छन् भन्ने कुरा आमिरले चलचित्र सितारे जमिन पर मार्फत यति बेला प्रमाणित गरेका छन् । सोही कारण चलचित्र सितारे जमिन परले अहिले समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
शुक्रवार ६ असारबाट विश्वव्यापी रिलिज भएको आमिरको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । उनका पछिल्ला दुई चलचित्र भन्दा यसको कमाई राम्रो छ । यो चलचित्रले दर्शकबाट पनि त्यत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यो चलचित्र रिलिज भएको चौथो दिनमा आइपुग्दा यसले भारतीय बजारमा ६६ करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

बलिउड बक्स अफिस रिपोर्टका अनुसार चलचित्र सितारे जमिन परले चार दिनमा भारतबाट मात्रै ६६.६५ करोड रुपैयाँको व्यापार गरिसकेको छ । यो चलचित्रले आइतबारसम्म तीन दिनमा भारतमा ५८.१५ करोड कमाएको छ । चौथो दिन अर्थात् सोमबार यो चलचित्रले ८.५० करोड रुपैयाँको नेट कलेक्सन गर्दै आफ्नो कुल कमाई ६६.६५ करोड रुपैयाँ पु¥याएको हो ।

आमिर खानको अघिल्लो फिल्म लाल सिंह चड्ढाले कुल ६१.३६ करोड रुपैयाँ कमाई गरेको थियो । त्यो चलचित्रको व्यापारलाई आमिरका नयाँ यो चलचित्रको चार दिनकै व्यापारले जितेको छ । यो चलचित्र प्रदर्शन भएको पाँचौँ दिन मंगलबार पनि चलचित्र घरमा अकुपेन्सी ३६ प्रतिशत भन्दा माथि देखिएको छ । यो हप्ताको पाँचौँ दिनको लागि राम्रो अकुपेन्सी मानिएको छ । सितारे जमिन परको सफलतासँगै यसै साता रिलिज भएका अन्य बालिउड तथा दक्षिण भारतीय चलचित्रको व्यापारमा ठुलो प्रभाव परेको थियो ।

यस स्पोर्टस् कमेडी–ड्रामा जनराको चलचित्रमा आमिर खानसँगै अभिनेत्री जेनेलिया डिसुजा पनि शीर्ष भूमिकामा छिन् । उनीसँगै १० जना नयाँ कलाकारहरूले पनि यो चलचित्रबाट डेब्यू गरेका छन् । यो चलचित्रलाई आमिर खान र अपर्णा पुरोहितले संयुक्त रूपमा निर्माण गरेका हुन् भने रवि भागचन्द पनि यसका अर्का निर्माता हुन् ।

स्पेनी चलचित्र ‘क्याम्पियोन्स’ को हिन्दी रिमेक गरेर सितारे जमिन परलाई निर्माण गरिएको हो । चलचित्रको कथा अनुसार एक बास्केटबल प्रशिक्षकले मादक पदार्थ सेवन गरेर गाडी चलाएकोमा सजाय स्वरूप सामुदायिक सेवा गर्नु पर्ने हुन्छ । उनले विशेष क्षमता (सुस्त मनस्थिति) भएका युवाहरूलाई बास्केटबल सिकाउनु पर्ने हुन्छ । तर यो काम उनको लागि निकै कठिन हुन्छ । यसरी ती युवा एवम् युवतीहरूलाई बास्केटबल सिकाउने क्रममा यी खेलाडीहरूबाट जीवनका यस्ता पाठहरू सिक्छन् की उनको सोचाई नै पूर्ण रूपमा परिवर्तन गर्छ । सोही परिवर्तनले एक दिन उनको टोलीले बास्केटबलमा विजय हासिल गर्छ । यही कथा चलचित्र सितारे जमिन परमा समेटिएको छ ।

प्रतिक्रिया

Selected poll is not defined.