इजरायलद्वारा इरानमाथि आक्रमण

  नेपाली सन्देश डट कम | ३१ जेष्ठ २०८२, शनिबार १२:४४

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमण शृंखला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्यस्थलसहित सय लक्ष्यमा आक्रमण गरेको छ । आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकको मृत्यु भएको छ ।

सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकको मृत्य

आक्रमणपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र पीडादायक भाग्य सामना गर्नुपर्ने’ चेतावनी दिएका छन् । इरानी मिडियाका अनुसार आक्रमणमा वरिष्ठ गार्ड कमान्डरसमेतको मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा सयवटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्ने कोसिस गरिरहेको थियो । इजरायली सेनाले आक्रमणमा २ सय लडाकु विमान संलग्न रहेको जनाएको छ । संयुक्त राज्य अमेरिकाले पनि ‘इजरायली कारबाहीमा संलग्न नभएको’ स्पष्ट गरेको छ । र, तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थमाथि आक्रमण नगर्न चेतावनी दिएको छ ।

तर, तेहरानले इजरायलको अपरेसन ‘संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमतिबिना गर्न सकिँदैन’ भन्दै संयुक्त राज्य अमेरिका ‘परिणामका लागि जिम्मेवार हुने’ बताएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको अपरेसनले ‘इरानको आणविक संवर्धन कार्यक्रमको मुटुमा प्रहार गरेको र नतान्जका आणविक सुविधा र आणविक वैज्ञानिकलाई लक्षित गरेको’ बताए । उनले ‘इरानविरुद्धको अपरेसन जति दिन लाग्छ, त्यति नै दिन जारी रहने’समेत प्रस्ट पारे ।

एक भिडियो वक्तव्यमा उनले ‘प्रारम्भिक आक्रमण अत्यन्त सफल भएको’समेत उल्लेख गरेका छन् । इजरायली कारबाहीमा इरानको रिभोलुसनरी गार्डका नेता हुसेन सलामी र सशस्त्र बलका चिफ अफ स्टाफ मोहम्मद बघेरी मारिएको इरानी मिडियाले जनाएको छ । तेहरानमा आवासीय भवनमा पनि आक्रमण भएको र महिला तथा बालबालिकासहित धेरै नागरिकको मृत्यु भएको उसले बताएको छ ।

तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल इमाम खोमेनीमा हवाई यातायात बन्द गरिएको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरी सबै विमानस्थलमा सबै उडान स्थगित गरेको छ । रक्षामन्त्री इजरायल काट्जले तेहरानबाट जवाफी कारबाही अपेक्षा गर्दै इजरायलले आपत्कालीन अवस्था घोषणा गरेको र आफ्नो हवाई क्षेत्र बन्द गरेको बताए ।

‘इरानविरुद्ध इजरायलको पूर्वनियोजित हमलापछि इजरायल राज्य र यसको नागरिकविरुद्ध मिसाइल र ड्रोन आक्रमण निकट भविष्यमा हुने अपेक्षा गरिएको छ,’ काट्जले भने । इजरायली सेनाले इरानसँग ‘कुनै पनि मिनेट’ इजरायलमा आक्रमण गर्ने क्षमता रहेको विश्वास गरेको एक इजरायली सैन्य अधिकारीले बताए ।

सम्झौता बिग्रिन सक्छ
इजरायली आक्रमणपछि तेलको मूल्य १२ प्रतिशतले बढेको छ भने सेयरबजार घटेको छ । यो आक्रमण यस क्षेत्रमा ट्रम्पको ‘ठूलो द्वन्द्व’को चेतावनीपछि आएको हो । यदि, द्वन्द्व सुरु भयो भने इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालक्षित गर्ने धम्की दिएपछि अमेरिकाले मध्यपूर्वमा कर्मचारी कम गरिरहेको पनि राष्ट्रपति ट्रम्पले बताएका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?