लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सदस्य चिरन शर्माले संघभित्र देखिएको विभिन्न असहयोग र विवादका बीच पनि सदस्यता वितरण उत्साहजनक रूपमा भइरहेको बताएका छन्।
उनका अनुसार, “प्रायः सबै पूर्वअध्यक्षहरूको असहयोग, परराष्ट्रमन्त्रीद्वारा छुट्टै कार्यसमिति गठन, गत निर्वाचनमा पराजित आरे शर्मा र महेश श्रेष्ठ समूहको निष्क्रियता लगायतका तमाम समस्याका बाबजुद पनि राष्ट्रिय समितिहरूमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण भैरहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। ५० भन्दा बढी देशमा उत्साहपूर्वक सदस्यता शुल्क तिरेर सदस्यता लिने क्रम जारी छ।”
शर्माले अघिल्लो नेतृत्वद्वारा निशुल्क सदस्यता वितरण अभियान असफल भएको उल्लेख गर्दै भने, “यसअघि पूर्वअध्यक्ष शेष घलेले निशुल्क सदस्यता अभियान सञ्चालन गर्दा ४० भन्दा बढी देशमा केवल १० जनाले मात्र अनलाइन फारम भरेका थिए। यसले एकता अधिवेशनलाई नै निस्तेज बनाएको थियो।”
उनले संस्थाको उद्देश्यप्रति स्पष्ट समर्थन जनाउँदै भने, “संस्थाको उद्देश्य गलत होइन; गैरआवासीय नेपालीका अधिकार र भावी पुस्ताको भविष्य यो अभियानसँग जोडिएको छ।” साथै, शर्माले पूर्व नेतृत्वका गल्तीहरू सुधार्ने हो भने अहिलेको अभियानमा सहभागी हुन आह्वान गरे। “फोहोर देखेर भाग्ने होइन, सबै मिलेर सफा गर्नुपर्छ,” उनले जोड दिए।
शर्माले आगामी जुलाई महिनामा हुने राष्ट्रिय समितिको निर्वाचन र अक्टोबर महिनामा हुने १२औं महाधिवेशनप्रति ध्यानाकर्षण गराउँदै भने, “आजै सदस्य बन्नुहोस्। घरमै बसेर मोबाइलमार्फत नेतृत्व चयन गर्ने ऐतिहासिक अवसरबाट वञ्चित नहुनुहोस्।”
गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशन अक्टोवर ११ तारिख देखि काठमाण्डौंमा हुदैछ ।
प्रतिक्रिया