काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन करिब तीन महिनापछि हुँदै छ । तर, विधान महाधिवेशन सुरु हुनुभन्दा अघि नै नेतृत्वसँग जोडिएका विषयलाई लिएर बहस हुन थालेको छ ।
एमालेमा ७० वर्षे हदबन्दी
अहिले एमाले अध्यक्षका रूपमा दोस्रो कार्यकाल र प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको चौथो कार्यकाल चलिरहेको छ । ओली अझै पार्टी नेतृत्वमै रहन खोजेको संकेत गरेका छन् । तर, एमाले पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेभित्रैका नेताहरूले अबको नेतृत्वका लागि भनेर चर्चा गर्न थालेका छन् ।
आगामी २१, २२ र २३ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ । २०७८ असोजमा भएको पहिलो विधान महाधिवेशनपछिको पहिलो बैठकबाट हटाइएको ७० वर्षे उमेर हदको प्रावधान’bout बहस फेरि सतहमा आएको छ । एमाले सचिवालय बैठकले १९ जेठ २०८० मा सो प्रावधान हटाएकोे थियो ।
उमेरले ७० पुगिसकेका ओली उमेरहदको प्रावधान नराखी फेरि पार्टी नेतृत्वमा तेस्रो कार्यकालका लागि आउन खोजेका छन् । तर, भण्डारीनिकट नेताहरूले सो प्रावधान राखेर उमेरले ७० नपुगेकी भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन खोजेको देखिन्छ । ओली अहिले ७४ वर्षका भएका छन् भने भण्डारी ६४ वर्षीया छिन् ।
दुई कार्यकाल राष्ट्रपति भएर देश दौडाहमा रहेकी भण्डारी पनि पार्टी नेतृत्वमा आउन खोजेकी छन् । उमेरको हदबन्दी विषयलाई चर्को रूपमा उठाउने र पार्टीको ११औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नेगरी आन्तरिक बहस सुरु भइसकेको छ । भण्डारीलाई नेतृत्वमा ल्याउन खोज्ने नेताहरू यो विषय विधान महाधिवेशनमा जोडतोडका साथ उठाउने तयारीमा छन् ।
भण्डारीसँगै दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन अहिले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उपाध्यक्षको जिम्मेवारीमा छन् । पुन सक्रिय राजनीतिमा फर्किसकेका छन्, भने भण्डारी पार्टी नेतृत्वसहित अगाडि बढ्न खोजेकी छन् ।
देश दौडाहमा रहेकी भण्डारी मंगलबार विराटनगर पुगेकी छन् । उनले त्यहाँ आफ्ना नेता कार्यकर्तासँग भेटघाट गर्न एमालेको अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नभएको टिप्पणी गरेकी छन् । भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने बहसका बीचमा ओलीले दिएको अभिव्यक्तिलाई इंगित गर्दै भण्डारीले यस्तो जवाफ फर्काएकी हुन् ।
‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र ? मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएकी हुँ पूर्वराष्ट्रपति भण्डारीले भनिन् । उनले आफ्नो चिनजान पनि ठुलै भएको र पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक भएको बताइन् । ‘राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि म पार्टीमा सक्रिय थिएँ भण्डारीले भनिन्, ‘अहिले समाजसँग साक्षात्कार गर्नु, जनताको विचार, आकांक्षा बुझ्नु मेरो कर्तव्य हो, नयाँ पुस्ताका लागि देशका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्छ ।
यसअघि विराटनगर केन्द्र बनाई एकसाता लामो बसेकी र नेताकार्यकर्तासँग सघन छलफल गरेकी भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुने बताएकी थिइन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले खुलेर भनिन्, ‘म अहिले कुनै पदमा छैन, जहाँ जान्छु एमालेसँग सोधेर जानुपर्दैन ।’
भण्डारीले यस्तो बताउनुभन्दा अघि ओलीले पार्टीमा अझै नेतृत्वको विकल्प नभएको संकेत गरेका छन् । ओलीको सार्वजनिक अभिव्यक्ति सुन्दा भण्डारी र ओलीका बीचमा सुमधुर सम्बन्ध रहेको देखिँदैन । भण्डारीको सक्रियताले ओलीलाई तनाव भएको देखिन्छ ।
गत २५ जेठमा एमालेनिकट भ्रातृ संस्था अनेरास्ववियुको २४औं सम्मेलन उद्घाटन गर्दै ओलीले महाधिवेशन नलाग्दै ‘को आउने, फलानो आउने अरे’ भन्दै भण्डारी आउने चर्चा गरिएकामा आपत्ति जनाए ।
‘अर्को खेल हुन खोजेको छ, यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, महाधिवेशन घोषणै भएको छैन ।
साथै, ओलीले पार्टी नेतृत्वमा आफंै रहिरहनका लागि ७० वर्षे उमेरहद नराखिने स्पष्ट पारेका छन् । ‘७० वर्षे उमेरहद फेल खाइसक्यो, म ७४ मा चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन र ? ४ वर्ष घटाउन भएन क्यारे उमेर !’ उनले भने, ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हुन् ।’
ओलीले चीन, साइप्रसका पार्टीको उदाहरण दिँदै चीनमा दुईपटक मात्रै अध्यक्ष, महासचिव, राष्ट्रपति हुन पाउने नियम बनाइएकामा सी जिन पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले उमेरहद हटाएको प्रसंग उल्लेख गरे । उनले भने, ‘७० वर्ष पनि हुँदैन ६५ लगाउनुभएका चीनका सी जिनपिङ ७२ पुगिसक्नुभयो, साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो, छाड्नुभयो, अरू विभिन्न पार्टीले उमेरहद तोकेका थिए, छोडे ।’
ओलीको यस अभिव्यक्तिले एमालेमा उमेर हदलाई औचित्यहीन बनाउने स्पष्ट देखिन्छ । तर, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ७० वर्षको उमेरहद र दुई कार्यकालको व्यवस्था कायम गर्नुपर्ने पक्षमा उभिएका छन् । ओली र पोखरेलको अभिव्यक्ति हेर्दा एमालेमा उमेरहद बहस चर्किने निश्चित छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एक सार्वजनिक कार्यक्रममा आफू ७० वर्षे उमेरको सीमाको पक्षमा मात्र नभई लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नहुने पक्षमा रहेको बताएका छन् । हाम्रो पार्टीको विगतको महाधिवेशनले नेतृत्वका ’boutमा दुईवटा कुरा गरेको छ, एउटा उमेरको सीमा तय गरेको छ, ७० वर्ष, अर्को, कार्यकारी पदमा लगातार दुईपटक भन्दा बेसी नहुने, डिस्कन्टिन्यु हुनुपर्छ भन्ने प्रावधान राखेको छ पोखरेलले भने ।
७० वर्षे उमेरहदको व्यवस्था कायम राखिए ओली, पोखरेलसहितका एमालेका पदाधिकारीको पंक्ति ११औं महाधिवेशनबाट पार्टीको सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने हुन्छ । तर, ओली थुपै्र नेताको उदाहरण दिँदै आवश्यकताका आधारमा हुनेमा अडिग छन् ।‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथजीलाई ७० पुगेर हटाएको होइन, हटाउनुपर्ने हुँदो रहेछ, ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं, आफैं बितेर जानुभयो, हामीले हटाएनौं,’ ओलीले भने ।
उनले पार्टीले भावनामा बगेर होइन, औचित्य आवश्यकता हेरेर निर्णय गर्नेसमेत बताए । तर, ओलीको विकल्प खोज्दै पार्टी नेतृत्वमा भण्डारीलाई ल्याउन खोज्ने नेताहरूले यही मुद्दालाई विधान महाधिवेशनमा उठाउँदै छन् । भण्डारीनिकट एक नेताका अनुसार ७० वर्षे उमेरहद कायम गरिनुपर्छ भन्ने एजेन्डामा चर्को बहस हुनेछ ।
भण्डारीको पक्षमा खुलेर लागेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले ७० वर्षे उमेरहद कायम गर्ने निर्णय ओलीकै अगुवाइमा भएको भन्दै कायम रहने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नै नेतृत्वमा भएका परिवर्तनको विरोधमा पार्टी नेतृत्व नजाने समेत जनाएका छन् ।
विगतमा ओली समूहमै रहेका र अहिले असन्तुष्ट बनेका नेताहरू कर्ण थापा, गोकुल बास्कोटा, कृष्ण राई, विनोद ढकाल, कृष्ण दाहालसहितकाले खुलेरै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनुपर्ने र नेतृत्वमै आउनुपर्ने बताइरहेका छन् । एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरू निस्किएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओलीको पार्टीमा मनोमानी, हैकमवाद बढेको बताउने नेताहरूसमेत भण्डारीको पक्षमा खुल्न थालेका छन् । ‘१० भाइ’ भनेर चिनिने र ओलीको हेपाइ, अवसरबाट वञ्चित, पार्टीमै जिम्मेवारीविहीनजस्ता भएका नेताहरू पछिल्लो समय भण्डारीकै पक्षमा लाग्न थालेका छन् ।
कतिपय नेताहरूले पार्टी नेतृत्वका लागि ओली र भण्डारी प्रतिस्पर्धामा नजाने बताउँछन् । महाधिवेशनबाट ओलीकै प्रस्तावमा भण्डारी पार्टी नेतृत्वमा आउनसक्ने आँकलनसमेत भइरहेको छ । बाहिर ओली र भण्डारी दुई समूहको नेतृत्व गरेजस्तो देखिए पनि भित्र एउटै समूह नै रहेको कतिपय नेताहरूले विगत स्मरण गर्ने गरेका छन् ।
प्रतिक्रिया