एनसीसी फुटाउँदैनौं, सर्वोच्चको फैसलाले आइसीसी मिल्छ : महेश श्रेष्ठ, अध्यक्ष एनआरएनए (एकता अधिवेशन)

  नेपाली सन्देश डट कम | २६ जेष्ठ २०८२, सोमबार ०५:३९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशनबाट चयन भएका अध्यक्ष महेश कुमार श्रेष्ठले संघका राष्ट्रिय परिषदहरू (एनसीसी) नफुटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अष्ट्रेलियाबाट सञ्चालन हुने एक अनलाइन मिडियालाई दिएको अन्तरवार्तामा श्रेष्ठले दुईवटा एनसीसी बनाउँदा समाधान कठिन हुने भएकाले आफू राष्ट्रिय समितिहरू विभाजित गर्ने पक्षमा नरहेको स्पष्ट पारे।

उनका अनुसार संघको केन्द्रीय विवाद सर्वोच्च अदालतको अन्तिम फैसलाबाट समाधान हुनेछ। उनले छुट्टै एमआईएस प्रणाली वा अर्को राष्ट्रिय समिति गठन गर्ने कुनै निर्णय नभएको जानकारी दिए।

श्रेष्ठले भने, “हामी आधिकारिक हौं, त्यसैले सबै एनसीसी हामीसँग आबद्ध होउन् भन्ने चाहना छ। तर छुट्टै खोल्ने कुरा होइन।”

संस्थाको एकतालाई निरन्तरता दिन डा. बद्री केसीसँग नियमित छलफल भइरहेको उनले बताए। साथै उनले सर्वोच्च अदालतको अन्तिम फैसलाअनुसार एकता कायम हुने विश्वास व्यक्त गरे।

“म एमआईएस प्रणालीको विरोधी होइन,” उनले स्पष्ट पारे।

एनआरएनए अष्ट्रेलियाको गठनका विषयमा बोल्दै श्रेष्ठले आफूले कुनै निर्देशन नदिएको बताए। “स्थानीय कानुनअनुसार कम्पनी हाउसमा नाम दर्ता गर्नु सबैको अधिकार हो, तर त्यो हाम्रो समर्थन प्राप्त होइन,” उनले भने।

संघको विवादका कारण एनसीसीमा झगडा आवश्यक नरहेको उल्लेख गर्दै उनले भने, “डा. केसीको बदनाम हुनु भनेको हामी सबैको बदनाम हुनु हो। सचिवालय कब्जा गर्नका लागि झगडा गर्नु आवश्यक छैन।”

श्रेष्ठले एक महिनाभित्र सर्वोच्चको फैसला आउने र त्यसपछि सबै पक्षबीच एकता कायम हुने दाबी गरे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?