लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९२ औं राष्ट्रिय समन्वय परिषद (एनसीसी) कोलम्बियामा स्थापना भएको छ। संघको अमेरिकाज क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार, कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतवार बसेको संघीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो।
कोलम्बियाको तदर्थ समितिको अध्यक्षमा छत्र बहादुर मैनाली, उपाध्यक्षमा लाल बहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धन बहादुर तामाङ, उपसचिवमा प्रेम बहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन्। सदस्यहरूमा जित बहादुर गुरुङ, कमल शर्मा र महिला सदस्यका रूपमा प्रबिना राई रहेका छन्। यस्तै, सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापा नियुक्त भएका छन्।
यसैबीच, यसअघि नै स्थापना भएको एनआरएनए ब्राजिल शाखालाई पुनर्गठन गर्दै नयाँ तदर्थ समिति गठन गरिएको छ। नयाँ संयोजकमा सन्देश लामिछाने चयन भएका छन् भने उपाध्यक्षमा शाहास चौधरी, महासचिवमा कृष्ण मास्की, सचिवमा शंकर बाँस्कोटा, उपसचिवमा हरि कृष्ण रेग्मी, र कोषाध्यक्षमा बबिता गुरुङ चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा रीता कुमारी गोले, प्रदिप चौधरी र महिला सदस्यका रूपमा तारा गैरे रहेका छन्। सल्लाहकारका रूपमा डा. कृष्ण पाठक र राम बस्नेत रहेका छन्।
दुवै देशमा गठित समितिहरूले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ संगठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको क्षेत्रीय संयोजक बस्नेतले बताए।
उनका अनुसार, नवगठित समितिहरूले आगामी जुलाई महिनाभित्र संघको केन्द्रीय सदस्यता प्रणाली (एनआइएस) अन्तर्गत सदस्यता लिएपछि मात्र अक्टोबरमा हुने संघको १२ औं महाधिवेशनमा सहभागिता जनाउन पाउने छन्। यसअघि एनआरएनएले ९१ औं शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद गठन गरेको थियो।
प्रतिक्रिया