लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्था बृहत् हुँदै गएपछि सबैलाई एकै मञ्चमा समेट्नु कठिन हुने बताए ।
आइतवार आयोजित भर्चुअल भेलाले ९१ औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) आइसल्यान्ड गठन प्रक्रिया अघि बढाउँदा डा. शर्माले “गैरआवासीय नेपाली अभियानमा लगानी, शिक्षा र परोपकारका असीम सम्भावना छन्,” भन्दै संघ भित्र बेलाबेला सतहमा देखिने विवादलाई “विशाल समुद्रभित्रका स्वाभाविक छाल” का रूपमा तुलना गरे । “ग्लोबल भिलेजमा एनआरएनए भनिने ठूलो समुद्रभित्र कहिलेकाहीँ भेलबाढी पस्छ, फोहोरका बाछिटा पर्न सक्छन् तर समग्रमा समुद्र सुन्दर नै देखिन्छ,” उनको भनाइ थियो ।
भेलाले संघका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा सुभास सिंह थापाको अध्यक्षतामा तदर्थ कार्यक्ष समिति घोषणा गरेपछि एक साताभित्र पूर्ण समिति प्रस्ताव गर्न थापालाई जिम्मेवारी दिएको छ ।
डा. केसीले “विदेशमा बस्ने नेपालीहरूको साझा चौतारी” भन्दै नवगठित समितिलाई आइसल्यान्डस्थित नेपालीहरूको समस्या नेपाल सरकारसम्म पुर्याउने, आपसी सद्भाव सुदृढ गर्ने तथा परोपकारी र लगानीमुखी पहल अघि बढाउने निर्देशन दिए । उनले “नेपालीका लागि नेपाली” मूल नारासहित २००३ देखि संघले गरेका परोपकार, आर्थिक तथा सीप–लगानीका उपलब्धि स्मरण गराए ।
महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरिन् । महासचिव गौरीराज जोशीले केन्द्रीय कार्यालयसँग नियमित समन्वय गरी संस्थागत सुशासन सुदृढ गर्नुपर्छ भने ।
कार्यक्रम युरोप संयोजक चिरञ्जीवी खड्काको संयोजनमा तथा एनआरएनए युरोप सचिव भुवन अर्यालको सञ्चालनमा सम्पन्न भयो ।
प्रतिक्रिया