तुलसीपुर (दाङ) । दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
त्यतिमात्र होइन्, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ । ग्वारखोलामा पुल निर्माणका लागि मात्र चालु वर्षमा रु एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेटअनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।
अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो”, स्थानीय प्रशान्त पुनले भन्नुभयो, “त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।
विसं २०७० मा उक्त सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय आफँैले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन पुनले भन्नुभयो, “वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।
सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताउनुभयो । “हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ उहाँले भन्नुभयो सबैले सहयोग गरे काम सम्भव पनि छ ।” स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नुपरेको उहाँको गुनासो छ । पुल नबन्दा छ महिना उक्त सडक सञ्चालन हुने र छ महिना ठप्प हुने अवस्था आएको पुनले बताउनुभयो । रुकुमको चुनवाङसम्म जोड्ने उक्त सडकको स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायमा गएको भए पनि सुनुवाइ नभएको दाङस्थित विजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभयो । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने बताउनुभयो । उक्त सडक विस्तार भएमा व्यापरिक हिसाबले पनि फाइदा पुग्ने उहाँको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
विजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र विजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुनमगरले बताउनुभयो । बीचमा बाटो स्तरवृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आवतजावतमा निकै कठिनाइ हुने गरेको छ ।
प्रतिक्रिया