भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

  नेपाली सन्देश डट कम | १ असार २०८२, आईतवार ००:०८

काठमाडौँ, भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो ।

सात प्रदेशसमेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । तीमध्ये काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो ।

यस्तै, वीरगञ्जमा र पोखरामा सात/सात तथा धरानमा चारवटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “उपहारस्वरुप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक हो । यो पहल भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा हो । जुन दुई देशबीचको सात दशक लामो र बलियो सम्बन्धको निरन्तरता हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ । यस्तै, हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।

भारत–नेपालको बहुआयामिक विकास साझेदारीलाई थप बलियो बनाउने उद्देश्यसहित गरिएको यस सहयोगले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने दूतावासले विश्वास गरेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?