काठमाडौं। भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन्। पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले दुवै देशबीच युद्धविरामको सहमति भएको जानकारी गराएका हुन्।
शनिबारको प्रेस ब्रिफिङमा भारतका विदेशमन्त्री विक्रम मिश्रिले साँझ ५ बजेदेखि स्थल र हवाई दुवै तर्फबाट आक्रमण रोक्न सहमति भएको बताएका हुन्।
यस्तै पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको जनाएका छन्।
उनले भनेका छन्, ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ।’
यसअघि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको बताएका थिए।
ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा लेखेका थिए, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ। सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।’
प्रतिक्रिया