काठमाडौं । नेकपा (एमाले) को आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मुलुक राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ। बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले स्थायित्व खलबल्याउने प्रयासहरु क्रमशः कमजोर हुँदै गएको बताएका छन्।
ज्ञवालीका अनुसार बैठकले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउने लक्ष्यसहित सम्पूर्ण ऊर्जा र सामर्थ्य एकताबद्ध गर्दै अघि बढ्ने निर्णय गरेको छ।
बैठकले सरकारको नीति तथा कार्यक्रम विगतको तुलनामा बढी चुस्त, व्यवस्थित र दिशानिर्देशक भएको निष्कर्षसमेत निकालेको छ। साथै, आगामी बजेट पनि ठोस र परिणाममुखी बनाउनुपर्ने सुझाव पदाधिकारी सदस्यहरूले दिएका छन्।
ज्ञवालीले उत्पादन र उत्पादकत्वमा केन्द्रित हुने, योजनाहरूको प्राथमिकता निर्धारण गर्ने तथा कृषि क्षेत्रको आत्मनिर्भरतामा जोड दिने खालको बजेट ल्याउन सुझाव दिइएको जानकारी दिए। साथै, स्रोतको अधिकतम उपयोगलाई ध्यानमा राखेर बजेट ल्याउने विषयमा पनि छलफल भएको उनले बताए।
बैठकले सरकारले शिक्षक र चिकित्सकहरूसँग गरेको सहमतिको स्वागत गर्दै धन्यवाद दिने निर्णय पनि गरेको छ।
प्रतिक्रिया