काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री बनेकी आरजु राणा देउवाले नियुक्तिसँगै भारत भ्रमण गर्दा उल्लेखनीय सम्मान प्राप्त गरेकी थिइन्। तर, पछिल्लो समय भारतीय पक्षबाट उनीप्रति त्यो सम्मानमा ह्रास आएको देखिएको छ।
भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको हालैको नेपाल भ्रमणले यसको स्पष्ट संकेत दिएको छ। चौथाइवालेले भ्रमणको क्रममा परराष्ट्रमन्त्री आरजुलाई भेट नगरी नेपाली कांग्रेस र माओवादी केन्द्रका अन्य नेताहरूसँग भेटघाट गरे। परराष्ट्रमन्त्रीकै हैसियतमा बसेकी आरजुलाई बेवास्ता गर्नु भारतका लागि उनी प्राथमिकतामा नरहेको संकेत हो भन्ने धारणा कूटनीतिक वृत्तमा फैलिएको छ।
नियमतः चौथाइवालेजस्तो नेता विदेश मन्त्रालयमार्फत नै सम्पर्कमा आउनुपर्ने मानिन्छ। तर, उनले नेपालमा आएपछि २० भन्दा बढी नेताहरूसँग भेटघाट गरे पनि आरजुलाई भेटेनन्। भेटका क्रममा उनले भारतका रणनीतिक सन्देशहरु पनि दिएका थिए।
चौथाइवालेसँग आरजुको व्यक्तिगत सम्बन्ध रहेको तथ्य पहिले देखिसकेको छ—उनीहरुले राखी बाँध्ने परम्परागत सम्बन्ध समेत साझा गरेका थिए। तर, यति घनिष्ट सम्बन्ध हुँदाहुँदै पनि औपचारिक भेट नगर्नु राजनीतिक सन्देशका रूपमा लिइएको छ।
कूटनीतिक विश्लेषकहरू भन्छन्, “भारतको संस्थापनले आरजुलाई प्राथमिकता दिन नचाहेको यो पछिल्लो संकेत हो, जसको असर नेपाल–भारत सम्बन्धको स्तरमा समेत देखिन सक्छ।”
प्रतिक्रिया