काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनमा डा. बद्री केसीसँग पराजित महेश कुमार श्रेष्ठ एनआरएनए घले समूहको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। श्रेष्ठ अघिल्लो महाधिवेशनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दा तेस्रो स्थानमा सिमित भएका थिए।
श्रेष्ठलाई संघका पूर्वअध्यक्ष तथा सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समिति संयोजक डा. शेष घलेले परराष्ट्रमन्त्री आरजु राणा देउवाको सक्रिय सिफारिसमा अध्यक्षको रूपमा चयन गरेका हुन्। १० औँ महाधिवेशनको परिणाम अस्वीकार गर्दै आएका श्रेष्ठ अहिले घले समूहको नेतृत्व सम्हाल्ने भएका छन्।
स्रोतका अनुसार, उपाध्यक्षमा डा. केशव पौडेलसहित ९ जनाको उम्मेदवारी परेको छ। पौडेल अघिल्लो महाधिवेशनमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। महासचिवमा भने अमेरिकास्थित बिआर लामालाई चयन गरिएको छ।
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन नै आधिकारिक हुने अपेक्षा गरिएको छ। शनिबार राजधानीमा सुरु भएको उक्त महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री देउवाले सबै पक्षलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरेकी थिइन्।
‘एकता महाधिवेशन’ को नाम दिइएको यो अधिवेशनलाई हालको कार्यसमिति, संस्थापक सदस्यहरू, विश्वभरका केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा उच्चस्तरीय समितिका आठ जना पदाधिकारीहरूले बहिष्कार गरेका छन्।
यसैबीच, एनआरएनएका निर्वाचित अध्यक्ष डा. बद्री केसी तथा अन्य पदाधिकारीहरू संघको आगामी कार्ययोजनाबारे आन्तरिक छलफलमा जुटिरहेका छन्। सर्वोच्च अदालतको दोस्रो आदेशअनुसार डा. केसीले आगामी अक्टोबरसम्म अध्यक्ष पदमा कार्य गर्न पाउने छन्।
प्रतिक्रिया