काठमाडौं । नेपालमा लगानी ल्याउने गैरआवासीय नेपाली (एनआरएन) लाई ‘पूर्ण अधिकारसहितको नागरिकता दिन सकिने’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको भनाइले चर्को विवाद निम्त्याएको छ। १० करोड रुपैयाँ ल्याए नागरिकता पाउने? भन्ने तर्कसँगै ‘नागरिकता अब बिक्रिमा?’ भन्ने बहसले नयाँ मोड लिएको छ।
नेपाली जनसम्पर्क समिति विभागको आयोजनामा बिहीवार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा डा. महतले डोनाल्ड ट्रम्पको गोल्डेन भिसा जस्तै योजना नेपालमा लागू गर्न सकिने बताए। उनले भने, “१० करोड रुपैयाँ लगानी ल्याउने एनआरएनलाई नेपाली सरहको अधिकार भएको नागरिकता दिन सकिन्छ।”
डा. महतको अभिव्यक्तिप्रति एनआरएन प्रतिनिधिहरू नै आक्रोशित देखिए। उनले लगानीकर्तालाई मात्र नागरिकता दिने भनाइ प्रस्तुत गर्दा, आफ्नै पार्टीभित्र पनि असन्तुष्टि देखिएको छ। आलोचकहरूले प्रश्न उठाएका छन्: “अब धनवानलाई मात्र नेपाली नागरिकता? गरिब र श्रमिक एनआरएन के अपराधी?”
कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले ‘प्रवासी नेपालीको समस्या समाधान गर्न लगानीमैत्री वातावरण बनाउनुपर्ने’ भन्दै संयमित धारणा राखे पनि, डा. महतको ‘नागरिकता बेच्ने’ शैलीको प्रस्तावले समग्र बहसलाई नै परिधिबाहिर पुर्याएको छ।
यसैबीच, नागरिकता जस्तो संवेदनशील विषयलाई आर्थिक मूल्यमा तोल्ने डा. महतको प्रस्तावविरुद्ध सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र आलोचना सुरु भएको छ। विश्लेषकहरू भन्छन्, “यो राष्ट्रघाती सोच हो, नागरिकता पैसामा किनबेच हुँदैन।”
गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवाले एनआरएनको अधिकार सुनिश्चित गर्ने कानुन निर्माणको तयारीमा रहेको भने पनि डा. महतको जस्तो कट्टर ‘व्यापारिक सोच’प्रति कुनै पनि स्पष्ट असहमति जनाएका छैनन्। कांग्रेस नेतृत्व मौन देखिँदा महतको भनाइलाई सरकारी समर्थनका रूपमा हेरिँदैछ।
प्रतिक्रिया