काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक विकास र समृद्धिको आकांक्षा निजी क्षेत्रको सक्रिय सहभागिताबाट मात्र सम्भव हुने बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार आर्थिक स्रोतको अभावबीच पनि ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित रहेको स्पष्ट पारिन्।
मन्त्री राणाले राजनीतिक अस्थिरता आर्थिक समृद्धिको प्रमुख बाधक भएको उल्लेख गर्दै त्यसलाई चिर्नकै लागि वर्तमान सरकार गठन भएको बताइन्। उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्न नीतिगत तथा कानुनी जटिलता हटाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्।
“सरकार आर्थिक नीतिको सुधार र कार्यान्वयनमा संवेदनशील भएर अघि बढिरहेको छ उनले भनिन्आ न्तरिक तथा वैदेशिक लगानी प्रवाह बढाउन सकारात्मक वातावरण बनाइँदैछ। कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि निजी क्षेत्रले नै देशको आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए। सरकारले अघि सारेको समृद्धिको लक्ष्यमा पुग्न निजी क्षेत्रलाई सहज वातावरण दिनुपर्ने उनको भनाइ थियो। उनले विगतमा सरकारको अत्यधिक सतर्कता नीतिले बजारलाई निष्क्रिय बनाएको उल्लेख गरे।
“निराशा हैन, आशा छर्न चाहन्छु अध्यक्ष ढकालले भने अवस्था सुधारोन्मुख छ, तर अहिलेको सुधार पर्याप्त छैन। जबसम्म हामी आफ्नै देशमा मर्यादित र उच्च ज्यालासहितका रोजगारी सृजना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन।”
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता र उद्योग क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यवसायीहरूलाई सम्मान गरेका थिए। गृहमन्त्री रमेश लेखक, श्रममन्त्री शरत्सिंह भण्डारी, उद्योगमन्त्री दामोदर भण्डारीसहित उच्चपदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया