“हामी जापान एक छौं। कृपया यहाँ फुटाउने गतिविधि नगर्नुहोस्।”
टोकियो — जापान भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेलाई यहाँको नेपाली समुदायले निराश पारेका छन्।
गैरआवासीय नेपाली संघको विवादमा सर्वोच्च अदालतको पहिलो फैसलाको समर्थन गर्न जापान आएका घलेलाई संघका उपाध्यक्ष रविन शेरचनले मे महिनामा हुने अधिवेशनको अर्थ नभएको बताएका छन्। उनले भने, “म शेष घले दाइको अगाडि भन्छु, अध्यक्ष पदमा लड्ने व्यक्तिलाई मे महिनाको निर्वाचनले समय दिँदैन। संस्थामा एकता कायम गर्न अक्टोबरमा अधिवेशन गरौं। सबैलाई मेरो आह्वान छ—एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन—मे महिनाको अधिवेशनमा भाग लिँदैनौं।”
कार्यक्रमका वक्ताहरूले घलेले युरोपेली मुलुकहरूमा एनआरएनए फुटाएर आएको उल्लेख गर्दै जापानको एकता भत्किन नदिन सचेत गराए। शेरचनले भने, “हामी जापान एक छौं। कृपया यहाँ फुटाउने गतिविधि नगर्नुहोस्।”
त्यस्तै, एनआरएनए एशिया क्षेत्रीय उपसंयोजक दीपक कंडेलले एनसीसीलाई बाहिर राखी आइसीसीको निर्वाचन सम्भव नभएको बताए। उनले एशिया क्षेत्रका सबै एनसीसीहरूले मे महिनाको अधिवेशनमा भाग नलिने जानकारी दिए। कंडेलले वर्तमान कार्यसमितिसँग पूर्वअध्यक्ष घलेले छलफल गर्नुपर्ने र मे महिनाको अधिवेशन रोकेर मध्यमार्गी समाधान खोज्नुपर्ने बताए। उनले युरोपमा जस्तै जापानको एनसीसी नफुटाउन चेतावनी पनि दिए।
कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले संघलाई युनिक संस्था भएको बताए। उनले ‘स्मार्ट एनआरएनए’ बनाउन नेतृत्व चयनमा सबैले स्वतन्त्र रूपमा मतदान गर्न सक्ने व्यवस्था गर्दा विवादरहित वातावरण बन्ने उल्लेख गरे।
पूर्वअध्यक्ष घलेले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि मे महिनामा निर्वाचन गर्न थालिएको बताए। साथै, संस्थाको पुनःसंरचनाका लागि नयाँ विधान आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा एनआरएनएका पूर्वउपाध्यक्ष महेश श्रेष्ठले अदालतको फैसला सबै पक्षले मान्नुपर्ने बताए। उनले पहिलो फैसला जस्तै दोस्रो फैसलाको पनि स्पष्ट व्याख्या आवश्यक रहेको धारणा राखे।
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नविन न्यौरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आधा दर्जनभन्दा बढी वक्ताहरूले एनआरएनए अभियानबारे सुझाव तथा सल्लाह दिएका थिए।
प्रतिक्रिया