तत्काल अधिवेशन रोक्न शेष घलेलाई परराष्ट्र मन्त्रालयको निर्देशन

  नेपाली सन्देश डट कम | १० चैत्र २०८१, आईतवार १३:३४

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयले संघका पूर्वअध्यक्ष शेष घलेलाई निर्देशन दिएको छ। मन्त्रालयका एक उच्च अधिकारीमार्फत घलेलाई अधिवेशन स्थगित गरी एकताको वातावरण बनाउन आग्रह गरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार मन्त्रालयको निर्देशनपछि पनि घलेले अधिवेशन रोकेका छैनन्। उनी विभिन्न देशहरूको भ्रमणमा रहेका छन्, जसमा अष्ट्रेलिया, थाइल्याण्ड, दुबई, यूके, बेल्जियम हुँदै प्रोतुगल जाने तयारीमा छन्।

शनिबार बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रममा बोल्दै घलेले समितिका सबै सदस्यले छाडेपनि अधिवेशन नरोकिने दृढता व्यक्त गरे। उनले भने, “यसअघि पनि मलाई सबैले छोडेर गएकै हुन्, यस पटक पनि छोडेर गए भने आश्चर्य हुने छैन्।”

घलेले उच्चस्तरीय समितिले तयार पारेको कार्यविधि अदालतको आदेशअनुसार नै रहेको दाबी गर्दै, “फन्डामेन्टल रुल अफ ल, न्याचुरल जस्टिस, ट्रान्सपेरेन्सी, फेयरनेस” जस्ता मान्यतामा आधारित रहेको बताए। साथै, उनले एकता अधिवेशनलाई एनआरएनए सुधारको अवसरको रूपमा चित्रण गरे।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयले अधिवेशन रोक्न निर्देशन दिएपछि नै घलेले बेलायतमा यस्तो अभिव्यक्ति दिएका हुन्। “उहाँलाई थाहा छ, यो अधिवेशनमा सरकार वा कुनै पनि एनसीसी सामेल हुने छैनन्। त्यसैले उहाँ अहिले एनसीसी फुटाउने अभियानमा हुनुहुन्छ,” स्रोतले भन्यो। शनिबार साँझ बोल्दै घलेले सरकारले उच्चस्तरीय समितिलाई सहयोग नगरेको सार्वजनिक रूपमा गुनासो गरेका थिए।

यसअघि, गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष महेश श्रेष्ठले संघको एकताको लागि उच्चस्तरीय समिति प्रभावकारी हुनुपर्ने बताएका थिए। श्रेष्ठले आवश्यक परे समय थप गरेर भए पनि एकताको महाधिवेशनका लागि पहल गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?