काठमाडौं
संसारको सातौं अग्लो धवलागिरि प्रथम (८,१६७ मिटर) आरोहण गर्न ८२ वर्षीय स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेन बेस क्याम्प पुगेका छन् । संसारका ८ हजार मिटर अग्ला सबै १४ वटा हिमाल आरोहण गर्न ६० वर्षदेखि नै निस्किएका उनी धवलागिरि आइपुगेका हुन् ।
यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रेका हुन् । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पुर्याइएको हो ।
ज्येष्ठ पर्वतारोहीलाई धवलागिरि आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले २ सेप्टेम्बरबाट यात्रा सुरु गरी अक्टोबर ११ भित्र आरोहण पूरा गर्ने जनाएको छ । कार्लोसले आफ्नो ६०–८२ वर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेकर्ड राखेका छन् ।
कान्तिपुर बाट
प्रतिक्रिया