काठमाडौं, गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि गम्भीर आरोप लगाएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाए।
गृहमन्त्री लेखकले पार्टी कार्यालयमै नक्कली पीडितहरुलाई बोलाएर उनीहरूबाट जाहेरी लेखाएर विभिन्न ठाउँमा आफूविरुद्ध उजुरी दर्ता गर्ने प्रयास भइरहेको बताए। उनले यस्ता कार्य अमर्यादित, आपत्तिजनक र राजनीतिक स्वार्थका लागि गरिएको जालसाँजी भएको जिकिर गर्दै दोषीलाई कारबाही गरिने चेतावनी पनि दिए।
उनले भने, “केही पार्टी कार्यालयहरूमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखाएर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ। कुन पार्टी कार्यालयमा यस्तो काम भएको हो भन्ने जानकारी मसँग भइसकेको छ। यस्ता जालछाँट र अमर्यादित काम गरेर राजनीति अभिष्ट पूरा गर्ने काम नगर्न आग्रह गर्दछु। यस्ता नक्कली पीडित खडा गरेर जालसाँजी गर्नेहरू पहिचान गरी कारबाही गरिनेछ।”
गृहमन्त्री लेखकले रास्वपालाई सम्भावना बोकेको दल भन्दै यस्ता गलत अभ्यासहरूबाट सचेत रहन सुझाव पनि दिए। साथै, रास्वपाका सांसदहरुले आफूलाई पूर्व गृहमन्त्री रवि लामिछानेसँग जोडेर प्रतिशोधको रूपमा निशाना बनाएको आरोपसमेत लगाए।
“जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दैछन्, यसप्रति तपाईंहरू सचेत हुनुहोस्। तपाईंहरू सम्भावना बोकेको पार्टी हुनुहुन्छ। म श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चार वटा देशसँग श्रम सम्झौता गरेको थिएँ। अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले त्यसकै बदलाको रूपमा मलाई निशाना बनाइरहनुभएको छ उनले भनाइमा स्पष्ट पारे।
प्रतिक्रिया