१२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल

  नेपाली सन्देश डट कम | ११ माघ २०८१, शुक्रबार ०५:४६

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो ।

पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले भने ।

बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको कागजात जाँच गरेको थियो । जाँचका क्रममा प्रमाणीकरणका लागि लगाइएको छाप नक्कली भएको पाइएको हो । त्यसपछि पोर्चुगलले १२० नेपालीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो ।

“जालसाजी मुद्दामा १२० नेपालीलाई ६ महिनाभित्र पोर्चुगल छोड्न र पाँच वर्षसम्म पोर्चुगल प्रवेश गर्न नपाउने गरी कारबाही सुनाइएको छ,” बास्तोलाले बताए ।

नेपालीले पेस गरेका प्रहरी रिपोर्ट, जन्मदर्ताजस्ता कागजाज प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली पाइएको थियो ।

दूतावास नहुँदा सास्ती
पोर्चुगलमा अहिले ६० हजारभन्दा बढी नेपाली छन् । तर, त्यहाँ नेपाली दूतावास छैन । यद्यपि, सरकारले दूतावास खोल्ने निर्णय गरिसकेको छ । सरकारले हालैमात्र पोर्चुगलको नेपाली राजदूत नियुक्त गरेको छ । नयाँ राजदूत प्रकाशमणि पौडेल दूतावास स्थापना गर्न पोर्चुगल जाने तयारीमा छन् ।

हाल पोर्चुगलमा अवैतनिक वाणिज्यदूत छैनन् । फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलको समेत काम गर्दै आएको छ ।

“यहाँ दूतावास नहुँदा यहाँ रहेका नेपालीले कागजात प्रमाणीकरण गर्न दलालहरूलाई बुझाउने गरेका छन् । दलालले एउटा कागजात प्रमाणीकरण गरेको ६०० युरोसम्म लिने गरेका छन् । दलालहरूले भने त्यस्ता कागजातमा नक्कली छाप लगाएर सम्बन्धित व्यक्तिलाई दिन गरेको अहिले खुलेको छ, जसका कारण ठूलो संख्यामा नेपाली डिपोर्टमा परेका छन्,” बास्तोलाले भने ।

नेपालीले बुझाएको कागजातमा शंका लागेपछि पोर्चुगलले त्यसको जाँच गर्न भारतको नयाँ दिल्लीस्थित आफ्नो दूतावासमा पठाएको थियो । नयाँ दिल्लीस्थित दूतावासले कागजात प्रमाणीकरण गर्न लगाएको छाप नक्कली भएको सूचना पठाएपछि पोर्चुगल सरकारले नेपालीमाथि कारबाही गरेको हो ।

“नेपालीले बनाएका कागजात सक्कली हुन् । तर, त्यो प्रमाणीकरण गर्न लगाइएको छाप नक्कली भएको पाइएको हो,” बास्तोलाले भने, “यस्तो जालसाजी मुद्दामा कति नेपाली पर्ने हुन्, यकिन छैन ।”

लाखौँ रुपैयाँ खर्चेर नेपाली पोर्चुगल जाने गरेका छन् । तर, दलालको फन्दामा पर्दा आउने दिनमा धेरै नेपाली डिपोर्ट हुने सम्भावना बढेको छ ।

“पोर्चुगल सरकारले जसलाई डिपोर्ट गरेको छ, उनीहरू उक्त निर्णयविरुद्ध अदालतमा जान पाउँछन् । तर, एउटा वकिलले एकपटक अदालतमा पेस हुँदा २५० युरो लिन्छन् । यो खर्च धान्न मुस्किल पर्छ,” बास्तोलाले भने ।

पीडित नेपालीहरूको पक्षमा गैरआवासीय नेपाली संघ, फ्रान्सस्थित नेपाली दूतावास कसैले आवाज नउठाएको उनले बताए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?