एनआरएनए सदस्यहरुले तिरेको शुल्क सिधैं श्रमिक कोषमा जाने व्यवस्था गछौं : एनआरएनए अध्यक्ष डा शर्मा

  नेपाली सन्देश डट कम | १५ मंसिर २०८३, सोमबार ०२:३८

काठमाण्डौं। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा हेमराज शर्माले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकार र एनआरएनएको प्रयास मात्र पर्याप्त नहुने स्पष्ट पार्दै अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाइने बताएका छन्।

एनआरएनए कतारद्वारा आइतबार आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले मध्यपूर्वमा नेपाली श्रमिकले भोगिरहेका समस्या बहुआयामिक रहेको र तिनको दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य अपरिहार्य रहेको बताए।

‘मध्यपूर्वका श्रमिकका समस्या नेपाल सरकारले मात्रै समाधान गर्न सक्दैन। त्यसैले अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो,’ उनले भने, ‘आईएलओ, आईएमओलगायतका अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गरिरहेका छौँ। हालै मात्र अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग पनि समझदारीपत्र ९एमओयू० गरेका छौँ। अन्तर्राष्ट्रिय समुदायको सहकार्यमा मध्यपूर्वमा रहेका नेपालीका समस्या समाधान गर्न हामी थप सक्रिय हुनेछौँ।’

उनले श्रमिकका समस्या समाधानलाई एनआरएनएको प्राथमिकतामा राखिएको उल्लेख गर्दै संघको १२औँ महाधिवेशनका लागि संशोधन हुन लागेको विधानमा सदस्यता शुल्कको उपयोगलाई समेत श्रमिकमुखी बनाउने व्यवस्था गर्न लागिएको जानकारी दिए। उनका अनुसार, संघका दर्ता सदस्यहरूले तिरेको सदस्यता शुल्कको रकम सिधै श्रमिक कल्याण कोषमा जम्मा हुने सुनिश्चितता विधानमै गरिनेछ।

अध्यक्ष डा. शर्माले एनआरएनएको नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई राजनीतिक दलको पदाधिकारी र संघको पदाधिकारीको जिम्मेवारी एकै समयमा नसम्हाल्न स्पष्ट निर्देशन दिइएको बताए।

‘हामीले राजनीति नगर्नुस् भनेका होइनौँ। तर एउटै समयमा राजनीतिक दल र एनआरएनए दुवै संस्थाको सक्रिय पदमा नरहनुस् भनेका हौँ। यो संस्थागत मर्यादा र विधानको व्यवस्था हो,’ उनले स्पष्ट पारे।

यसअघि पनि राजनीतिक दलमा जिम्मेवारी सम्हालेका एनआरएनए पदाधिकारीहरूले पार्टीको पद त्यागेर संस्थामा सक्रिय भएको स्मरण गराउँदै उनले अहिले पनि त्यही व्यवस्था लागू हुने बताए। स्वेच्छाले राजनीतिक पद नत्यागेमा विधानअनुसार स्वतः कारबाही प्रक्रिया अघि बढ्ने उनको चेतावनी थियो।

अध्यक्ष शर्माले गैरआवासीय नेपाली नागरिकताको विषय संवेदनशील र कानुनी रूपमा गम्भीर रहेकाले यसबारे पर्याप्त अध्ययन र बुझाइपछि मात्र सार्वजनिक अभिव्यक्ति दिन संघका पदाधिकारीहरूलाई आग्रह गरे।

विचार र दृष्टिकोण फरक हुन सक्ने भए पनि त्यसले संस्थाप्रतिको आस्था, विश्वास र प्रतिष्ठामा आँच पुग्ने अवस्था आउन नहुने उनको भनाइ थियो। संस्थाभित्रको असहमति र फरक मतलाई संस्थाको हित तथा गरिमालाई केन्द्रमा राखेर व्यक्त गर्नुपर्नेमा उनले जोड दिए।

मध्यपूर्वमा रहेका नेपाली श्रमिकका मुद्दालाई प्राथमिकताका साथ उठाउने र क्षेत्रीय तहमा देखिएका समस्याको समाधानका लागि ठोस पहल गर्ने उद्देश्यले अध्यक्ष शर्मा कतार पुगेका हुन्। उनको कतार भ्रमणका क्रममा एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तथा सम्मेलनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भइरहेको छ।

कार्यक्रममा एनआरएनए कतारका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको सहभागिता थियो।

प्रतिक्रिया

Selected poll is not defined.