राष्ट्रिय खेलकुदमा बागमतीको शानदार प्रदर्शन, पुलिस फुटबल सेमिफाइनलमा

  नेपाली सन्देश डट कम | १४ मंसिर २०८३, आईतवार ०७:५०

काठमाडाैं। दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका खेलहरूको पदक तालिकामा बागमती प्रदेश १९ स्वर्ण, १२ रजत र १४ कास्यसहित कुल ४५ पदक जित्दै शीर्ष स्थानमा कायम भएको छ।

प्रतियोगितामा अहिलेसम्म सहआयोजक कर्णाली प्रदेश भने कुनै पनि विधामा पदक जित्न असफल हुँदै पदकविहीन बनेको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको स्पष्ट पारेका छन्।

पदक तालिकाको दोस्रो स्थानमा १२ स्वर्ण, चार रजत र चार कास्यसहित २० पदक जितेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) रहेको छ। त्यस्तै, ११ स्वर्ण, २० रजत र १९ कास्यसहित ५० पदक प्राप्त गरी त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ भने आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको नेपाल पुलिस क्लब चौथो स्थानमा रहेको छ।

अन्य प्रदेशहरूमध्ये गण्डकीले ९, कोशीले ६, सशस्त्र प्रहरी बल (एपीएफ) ले ५, लुम्बिनीले ११ र सुदूरपश्चिमले ९ पदक प्राप्त गरेका छन् भने मधेस प्रदेशले २ कास्य पदक मात्र जितेको छ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेलहरू अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्, जसमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिताहरू सम्पन्न भइसकेका छन्।

यसैबीच, प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पुलिसका लागि सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यो हारसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.