काठमाडाैं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौं’ भन्ने नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टीले यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन तयारी तीव्र पारेको छ।
अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक कार्यदिशा, जिम्मेवारी र स्पष्ट जानकारी दिन पार्टीले आज विशेष अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको प्रमुख उपस्थितिमा हुने यस कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ।
त्यस्तै, उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने प्रविधिको प्रयोग गर्दै जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको छ। सम्बन्धित प्रतिनिधिहरूको मोबाइलमा जुम बैठकको लिंक पठाइने र सोहीमार्फत उनीहरू निर्धारित समयमा जोडिन सक्ने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।
देशका सबै स्थानीय तहमा सञ्चालन हुने यस अभियानलाई व्यवस्थित, उद्देश्यमूलक र प्रभावकारी बनाउन यो अभिमुखीकरण कार्यक्रम निकै महत्त्वपूर्ण हुने कांग्रेसले विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया