काठमाडौं। नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ केन्द्रीय महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न पाँचवटा उपसमितिका संयोजक मनोनयन गरेको छ।
१५औँ केन्द्रीय महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार उपसमितिहरूको नेतृत्व तोकेका हुन्। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनका विभिन्न कामलाई गति दिन संयोजकहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो।
विज्ञप्तिअनुसार प्रचारप्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत मनोनीत भएका छन्। त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ।
यसैगरी, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले पाएकी छन् भने स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनीत भएको जनाइएको छ।
प्रतिक्रिया