काठमाडौँ — सरकारले रसुवाको भाेटेकाेशी बाढीपीडितबाट घर तथा आवास गुमाएकाहरूलाई अनुदान दिने तयारी गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे बिहीबार बसेकाे बैठकले बाढीले घर क्षति भएका परिवारलाई स्थायी आवास निर्माणका लागि हिमाली भेगमा घर निर्माण गर्ने भए ८ लाख, पहाडमा भए ७ लाख र तराईमा ६ लाख दिनेगरी निर्णय गर्न मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हाे ।
प्राधिकरणकाे बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताकाे पनि सहभागीता थियो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार प्राधिकरणले गरेको निर्णय बमोजिमको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयार भइसकेको छ । ‘एक पटकको लागि बाढीपीडितलाई घर निर्माण गर्न रकम दिने प्रस्ताव मन्त्रिपरिषद्मा लाैजाने तयारी भइसकेको छ । मन्त्रीपरिषद्काे आगामी बैठकबाट याे निर्णय गर्ने तयारी छ,’ पूर्वाधार विकास मन्त्रालय स्राेतले भन्याे ।
रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित जिल्लाका पीडितलाई घर निर्माणका लागि त्यस्ताे रकम दिने निर्णय हुन लागेको हाे । घरमा क्षति भएका पीडितकाे सम्बन्धित जिल्लामा जग्गा भए साेही जग्गामा र जग्गा पनि बगेको वा क्षति पुगेको भए एकीकृत आवास कार्यक्रममा पीडितलाई समेट्ने याेजना तयार गरिएको मन्त्रालय स्राेतले जानकारी दियाे । ‘जसकाे जिल्लाभित्र जग्गा छ उहाँहरूले त्याे जग्गामा घर निर्माणका लागि रकम लिनुहुन्छ, जसकाे जग्गा छैन उहाँहरूलाई एकीकृत आवास कार्यक्रममा समाहित गर्ने याेजना पनि तयार छ,’ मन्त्रालयका ती अधिकारीले भने ।
प्रतिक्रिया