नयाँ दिल्लीमा शाह र जयशंकरको भेट, आपसी हित र द्विपक्षीय सहकार्यबारे संवाद

  नेपाली सन्देश डट कम | ७ मंसिर २०८३, आईतवार २३:२४

नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

भेटका क्रममा उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणमा आइतबार नयाँ दिल्ली पुगेका हुन्।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हो। भ्रमणका क्रममा उनको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी छन्।

भेटवार्ता तथा भ्रमणको कार्यतालिकाअनुसार विदेशमन्त्री जयशंकरसँगको भेटपछि साँझ नेपाल-भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रम तय गरिएको छ। सोमबार बिहान प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् र त्यसपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय तथा एकान्त वार्ता गर्नुहुने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदीसँगको वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकाससँगै नयाँ क्षेत्रका सहकार्य तथा संयुक्त भिजन डकुमेन्टमा समेत छलफल हुने तयारी छ।

भ्रमणकै क्रममा ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ, जसको शिलालेख नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत अनावरण गरिने र सङ्खुवासभास्थित आयोजनास्थलमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।

साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान तथा बाढीपछिको पुनर्निर्माण र विकास परियोजनासम्बन्धी आर्थिक सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.