सङ्घीयता सुदृढीकरणका लागि वित्तीय अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक : मुख्यमन्त्री शाही

  नेपाली सन्देश डट कम | ४ मंसिर २०८३, बिहीबार ०९:०२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय शासन व्यवस्थालाई सफल, प्रभावकारी र दिगो बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

गाउँपालिका महासङ्घ कर्णाली प्रदेश, सुर्खेतद्वारा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संविधानको मर्म र भावनाअनुसार प्रदेश तथा स्थानीय सरकार सञ्चालन हुन सके मात्रै नागरिकले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका हुन्।

‘स्थानीय सरकारको एक दशकः अन्तरसरकार समन्वय, वित्तीय सङ्घीयता कार्यान्वयनको प्रगति तथा सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरणको समीक्षा र आगामी वर्षको कार्यदिशा’ विषयक उक्त अन्तरक्रियामा उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना बलियो हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री शाहीले प्रदेश र स्थानीय सरकार एकअर्काका प्रतिस्पर्धी नभई सहयोगी हुनुपर्ने उल्लेख गर्दै आपसी सहकार्यबाट मात्रै नागरिकका आवश्यकता र अपेक्षाअनुसार विकास निर्माण तथा सेवा प्रवाहका काम प्रभावकारी बनाउन सकिने बताए।

उनले भने स्थानीय र प्रदेश सरकार प्रतिस्पर्धी होइन, सहयोगी बन्नुपर्छ। समन्वय र सहकार्यका माध्यमबाट अगाडि बढ्नुपर्छ। दुई तहका सरकारबीचको सहकार्यले मात्रै जनताको आवश्यकताअनुसार काम गर्न सकिन्छ।

सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका नीतिगत, कानुनी तथा व्यावहारिक समस्याहरू समाधान गर्न प्रदेश र स्थानीय सरकारले साझा धारणा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। आवश्यक विषयमा आपसी समन्वय र सहकार्य गर्दै सङ्घीय सरकारलाई समेत सङ्घीयता कार्यान्वयनका लागि आवश्यक दबाब दिनुपर्ने उनले बताए।

अधिकारको बाँडफाँट तथा कार्यान्वयनका विषयमा सबै तहका सरकारबीच आपसी समझदारी, समन्वय र सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरे। कार्यक्रममा सहभागी वक्ताहरूले पनि प्रदेश तथा स्थानीय सरकार अधिकार, स्रोत र साधनका हिसाबले सक्षम र बलियो नभएसम्म सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण सम्भव नहुने धारणा राखेका थिए।

उनीहरूले वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार तथा अन्तरसरकार समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

Selected poll is not defined.