एनआरएनए पूर्वअध्यक्षहरुले सभामुखलाई के आग्रह गरे ?

  नेपाली सन्देश डट कम | ३० कार्तिक २०८३, आईतवार ०६:१९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले शनिबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको दोहामा आयोजना हुन लागेको ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन सभामुख अर्याललाई औपचारिक निमन्त्रणा हस्तान्तरण गरिएको छ।

भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपालीको योगदान, लगानी, विप्रेषण, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका हकहित तथा संघका समसामयिक विषयमा विस्तृत छलफल भएको थियो। साथै, संघको भावनात्मक एकता, संस्थागत सुदृढीकरण र स्थापनाकालीन उद्देश्यको संरक्षणमा विशेष जोड दिइएको थियो।

सो अवसरमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था भएकाले यसको एकता, संस्थागत सुदृढीकरण र स्थापनाकालीन उद्देश्यको संरक्षणमा राज्यको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले संघलाई एकताबद्ध र थप सशक्त बनाउँदै अघि बढाउन सभामुखबाट आवश्यक सहयोग, सहजीकरण र अभिभावकीय भूमिका अपेक्षा गरिएको उल्लेख गर्नुभयो। साथै, गैरआवासीय नेपालीका अधिकार, पहिचान र सरोकारका विषयलाई राज्यको नीति तथा कानुनी व्यवस्थामा उचित सम्बोधन गराउन सभामुखको सकारात्मक पहल रहने विश्वास व्यक्त गर्नुभयो।

पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरूले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै उनीहरूका सरोकारका विषयलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीको लगानी र विप्रेषणको महत्वबारे चर्चा गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा रसुवा–भोटेकोशी क्षेत्रमा विपद्पछिको राहत र पुनर्स्थापनाका कार्यमा संघले सरकारसँग सहकार्य गरेर अघि बढ्ने विषय राख्नुभयो।

पूर्वअध्यक्ष विनोद कुँवरले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा व्यावहारिक समस्याबारे सभामुखको ध्यानाकर्षण गराउनुभयो। अर्का पूर्वअध्यक्ष आरके शर्माले संस्थाको साझा उद्देश्य र हितका लागि सबै पक्षलाई एकताबद्ध गर्ने प्रयासस्वरूप पूर्वअध्यक्षहरूले संयुक्त रूपमा सभामुखलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएको बताउनुभयो।

संस्थापक सदस्य रामप्रताप थापाले गैरआवासीय नेपाली नागरिकता, लगानी तथा विशेषगरी युरोपमा रहेका नेपालीहरूमा नागरिकताको कार्यान्वयनले पारेको प्रभावबारे आफ्नो धारणा राख्नुभयो। उपाध्यक्ष रोजिना प्रधान राईले संघले हालै देशका विभिन्न स्थानमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सञ्चालन गरेका राहत तथा सहयोगका कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँले नागरिकताको कार्यान्वयन, संघका आगामी कार्यक्रम र सरकारसँगको सहकार्यका सम्भावित क्षेत्रबारे पनि चर्चा गर्नुभयो।

भेटका क्रममा गैरआवासीय नेपाली ऐनलाई गैरआवासीय नेपालीहरूको भावना र अपेक्षाअनुरूप यथाशीघ्र सदनमा प्रस्तुत गरी पारित गर्ने प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन प्रतिनिधिमण्डलले सभामुखसमक्ष अनुरोध गरेको थियो।

नेपाल भित्रिने कुल विप्रेषणको ५० प्रतिशतभन्दा बढी हिस्सा मध्यपूर्वलगायतका क्षेत्रबाट आउने गरेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले वैदेशिक रोजगारी तथा स्वरोजगारमा संलग्न लाखौँ नेपाली श्रमिकको हक, हित, सुरक्षा र सम्मानका विषयलाई प्राथमिकताका साथ उठाएको थियो। श्रमिकले भोगिरहेका समस्या र उनीहरूसँग जोडिएका सम्भावनालाई नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक पहल गरिदिन पनि सभामुखसमक्ष आग्रह गरिएको थियो।

त्यसैगरी, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा पनि छलफल भएको थियो। साना तथा सामूहिक लगानीका साथै १० अर्ब रुपैयाँको लगानी परियोजनामार्फत नेपालको समृद्धिमा गैरआवासीय नेपालीको सहभागिता र योगदानलाई थप प्रभावकारी बनाउने विषयमा नीतिगत संवाद अघि बढाउनुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएको थियो।

भेटमा सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले यसलाई बलियो, एकताबद्ध र संस्थागत रूपमा सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो। संस्थाभित्र अनावश्यक राजनीतिक गतिविधि हुन नहुने उल्लेख गर्दै उहाँले संघ स्थापनाको पवित्र उद्देश्य र पछिल्लो समय त्यसको व्यावहारिक कार्यान्वयनबीच देखिएको अन्तरले आफूलाई दुःख लागेको बताउनुभयो। संघलाई स्थापनाकालीन उद्देश्य र मूल मर्मअनुसार अघि बढाउन उहाँले सुझाव दिनुभयो।

सभामुख अर्यालले नेपालको संविधानको भावना अनुरूप गैरआवासीय नेपालीका विभिन्न सरोकारका विषयलाई आफूले सभामुखको हैसियतमा सधैँ महत्व दिने बताउनुभयो। आगामी दिनमा थप छलफल र समन्वयमार्फत यी विषयलाई अघि बढाउन सकिने उहाँको भनाइ थियो।

कतारमा आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको निमन्त्रणाका लागि धन्यवाद दिँदै सभामुख अर्यालले आफ्नो कार्यव्यस्ततालाई विचार गरी सम्मेलनमा सहभागिताबारे निर्णय गर्ने बताउनुभयो।

सभामुखसँगको भेटअघि प्रतिनिधिमण्डलले पूर्वअध्यक्षहरू महेश श्रेष्ठ, रविना थापा र कुल आचार्य तथा वर्तमान अध्यक्ष डा. हेमराज शर्मासँग समेत संवाद र समन्वय गरेको थियो।

प्रतिनिधिमण्डलमा पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके शर्मा र विनोद कुँवर, संस्थापक सदस्य रामप्रताप थापा, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोजिना प्रधान राई तथा संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया

Selected poll is not defined.