काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।
यस जितसँगै सुदूरपश्चिम पाँच जितसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित काठमाडौं गोर्खाजको खातामा आठ अंक रहेको छ। काठमाडौंको एक खेल बाँकी रहेकाले उसको प्लेअफ सम्भावना भने कायमै छ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो। काठमाडौंका लागि रासिद खानले सर्वाधिक ३५ रन बनाए भने दुसान हेमान्थाले २१ रनको योगदान गरे।
सुदूरपश्चिमका बलर अनिल खरेलले दुई विकेट लिएपछि काठमाडौं लक्ष्यसम्म पुग्न असफल भयो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। उनले ६० रन बनाए। त्यस्तै आरिफ शेखले २१ तथा थरिन्दु रत्नायकेले २६ रन जोडे।
एक समय आठ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमको पारीलाई कप्तान ऐरी र आरिफ शेखले सम्हालेका थिए। यी दुई ब्याटरबीच भएको ५४ रनको महत्वपूर्ण साझेदारीले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएको थियो।
बलिङतर्फ काठमाडौं गोर्खाजका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसैबीच, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। उक्त खेलले अंक तालिकाको समीकरणमा थप प्रभाव पार्नेछ।
प्रतिक्रिया