भुवन चन्दको सिने योगदानलाई जीवनसम्मान, सानुकाजीको कलमलाई पुरस्कार

  नेपाली सन्देश डट कम | ४ असार २०८२, बुधबार १४:३३

काठमाडौं । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड –२०८१’बाट सम्मानित भएकी छिन् । सोमबार बेलुका काठमाडौँमा आयोजित ‘चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१’ को ग्रान्ड फिनाले समारोहमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० हजार १० रुपैयाँ सहित भुवनलाई सो सम्मान प्रदान गरेका हुन् । यस्तै सोही समारोहमा ५ हजार ५५५ रुपैयाँ सहित अग्रज कला पत्रकार सानुकाजी श्रेष्ठ कला पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए ।

समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, चलचित्र निर्माताहरू ध्रुव न्यौपाने, विनोद गुरुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापा, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, नृत्य निर्देशकद्धय शंकर बिसी, शिव बिक, कलाकार मनु थुक्लुङ पनि कार्यक्रममा सम्मानित भए । यस्तै स्टेज डिजाइन रमेश श्रेष्ठ, व्यवसायीहरु देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी डिल्ली माया गुरुङ, शनी लिम्बु, शान्ति सुनार (राजशान्ति)लाई पनि सम्मानित गरियो ।

समारोहमा गीत संगीत र चलचित्रका विभिन्न २९ विधामा अवार्ड प्रदान गरियो । जसमा आधुनिक विधा तर्फ गायकको अवार्ड हेमन्त शिशिरलाई, डायस्पोरा गायकको अवार्ड धन किरण गुरुङलाई, गीतकारको अवार्ड विदुरराज गिरीलाई र संगीतकारको अवार्ड पल घलेलाई प्रदान गरियो । आधुनिक गीतमै म्युजिक भिडियो निर्देशकको अवार्ड मिलन श्रेष्ठले, पुरुष मोडलको अवार्ड दिक्पाल कार्कीले, महिला मोडलको अवार्ड रिना गुरुङले, गाउँ प्रवर्धन गीतको अवार्ड लकु फोरी गीतले, यही विधाको जुरी अवार्ड भुमलीचोक गाउँ गीतले पायो ।

टेली चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सक्किगोनीबाट रश्मी पाण्डेले हासिल गरिन् भने चलचित्र तर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड लिम्बु चलचित्र सेमेवाबाट दिलीप फुरुम्बोले, अभिनेताको अवार्ड सेमेवा चलचित्रबाट रुद्र पाहिमले, अभिनेत्रीको अवार्ड गुरुङ चलचित्र ह्रोसै ङ्होबाट आकृति गुरुङले र चरित्र अभिनेत्रीको अवार्ड सुगुपबाट पवित्र तेम्बेले थापिन् ।

लोक दोहोरीतर्फ गीतकारको अवार्ड दमौलीमाबाट ओम छिनालले, गायकको अवार्ड दमौलीमाबाटै मौसम गुरुङले, गायिकाको अवार्ड पुरानो दौतारीबाट पूजा परियारले, गायिकाको जुरी अवार्ड कालिका रोकाले, नव गायिकाको अवार्ड बिमा सारू मगरले र कौडा गीत गायकको अवार्ड सान कान्छीबाट शुक्र तामाङले प्राप्त गरे । लोक दोहोरीमै म्युजिक भिडियो महिला मोडलको अवार्ड कमला बिसीले, पुरुष मोडेलको अवार्ड लोमश शर्माले हासिल गरे ।

समारोहमा लोक गीत गायिकाको अवार्ड नगर दोमनबाट सरिता भारतीले र लोक–पप गायकको अवार्ड के होला भोलीबाट रुद्र शर्माले हासिल गरे । संगीत संयोजकको अवार्ड पुरानो दौतारीबाट सुनिल परियारले, संगीत संयोजकको जुरी अवार्ड मायाको सिमानाबाट सुरत प्रधानले पाए ।

आदिवासी विधामा लिम्बु गीतकारको अवार्ड मेन्छायम पालमबाट सञ्चमाया लिम्बुले, लिम्बु गीत गायकको अवार्ड मिम्जिरे तराङ २ बाट अमर योङहाङ लिम्बुले, लिम्बु गीत गायकको जुरी अवार्ड मिम्जिरे मिक्टोकबाट विवश नेम्वाङले हासिल गरे । लिम्बु गीत गायिकाको अवार्ड चौबेस्मा मेछिनबाट दुर्गा कुमारी लिम्बुले, आदिवासी गायिकको जुरी अवार्ड तुखेसो पन्हाबाट कर्मिला शेर्माले र लिम्बु गीतमै गायिकाको पब्लिक च्वाइस अवार्ड तमके हाकपारेबाट पदम कुमारी फियाकले प्राप्त गरे ।

म्युजिक भिडियोतर्फ आदिवासी महिला मोडेलको अवार्ड मिम्जिरे मिक्टोकबाट मिरा फियाकले, लिम्बु् गीत पुरुष मोडलको अवार्ड नारागेन चैतबाट सुरेन सिसिर केरुङले, लिम्बु पुरुष मोडेलको जुरी अवार्ड मेन्छायम पालमबाट महेन्द्र कुमार लिम्बुले हासिल गरे । म्युजिक भिडियोमै चरित्र अभिनेताको अवार्ड टसी गुरुङले, चरित्र अभिनेत्रीको अवार्ड विमला इवारमले थापे भने नेपाल भाषा गीत गायिकाको अवार्ड कटनमारिया रूप छांगुबाट गंगादेवी महर्जनले हासिल गरिन् ।

समारोहमा विभिन्न कलाकारहरूले नृत्य एवम् सांगीतिक प्रस्तुति दिएका थिए । यो अवार्डको आयोजक एवम् चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवर्धनको लागि क्वालिटी फिल्मसले बिगत चार वर्षदेखि यो अवार्ड गर्दै आएको कार्यक्रममा बताए ।

यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ र कलाकार बीजेन्द्र नौबागे रहेका थिए ।

प्रतिक्रिया

Selected poll is not defined.