काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान गर्न सर्वोच्च अदालतले दिएको आदेशको भावनाविपरीत पूर्वअध्यक्ष शेष घले नेतृत्वको एकता महाधिवेशन असफल भएपछि संस्थामा नयाँ नेतृत्वको पहलमा एकता अभियान सुरु भएको छ।
एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठले संघभित्र व्यापक एकता कायम गर्न सक्रिय पहल थालेका छन्। श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले दुईवटा महत्वपूर्ण निर्णयहरू गरेको छ।
श्रेष्ठका अनुसार, बैठकले गैरआवासीय नेपाली संघभित्र बृहत् एकता स्थापित गर्न विशेष अभियान सञ्चालन गर्ने र सबै पक्षसँग वार्ता गर्ने निर्णय गरेको छ। साथै, एकता महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबै पक्षहरूप्रति आभार प्रकट गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसअघि, शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिले वर्तमान कार्यसमिति, संस्थापक सदस्यहरू, तथा विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरूलाई समेट्न नसकी एकलौटी ढंगले महाधिवेशन अघि बढाएको भन्दै घलेको आलोचना हुँदै आएको थियो। एकता नाममा आयोजित भनिएको महाधिवेशन विभाजनको माध्यम बनेपछि घले विवादमा तानिएका थिए।
अब महेश श्रेष्ठको नेतृत्वमा पुनः समावेशी र संवादमैत्री प्रक्रिया थालिएको भन्दै संघभित्र एकताको आशा पलाएको छ।
प्रतिक्रिया